दमक/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ महाभाराका महिलाहरुलाई रोजगारमुखी सीपमुलक तालिममार्फत आत्मनिर्भर बनाउन वडाले व्यवसायीक सीप तालिम शुरु गरेको छ ।
यसअघि यहाँका महिलाहरुलाई सिलाई बुनाई सम्बनिध आधारभुत कोर्ष तालिम दिइदै आएकोमा अब पूर्णरुपमा दक्ष बनाएर रोजगारमा महिलाहरुलाई जोडनका लागि सिलाई बुनाइको एडभान्स कोर्ष विशेष तालिम शुरु गरिएको वडाध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिए ।

वडाको बजेटबाट खर्च गर्ने गरी बिहिबारदेखि शुरु भएको २ महिने सिलाई बुनाई तालिमको उदघाटन वडाध्यक्ष राजवंशीको अध्यक्षतामा भएको हो ।
तालिममा वडाका करिब ३० जना महिलाहरुको सहभागिता रहेको छ । यसअघि सिलाई बुनाई तालिमको बेसिक कोर्स लिइसकेका महिलाहरुलाई एडभान्स तालिम दिएर आत्मनिर्भर बनाउने उद्धेश्यले सञ्चालन गरिएको तालिममा प्रशिक्षक आदुल राजवंशीले प्रशिक्षकको भुमिका निर्वाह गर्नेछन ।
वडाकै सभाहलमा सञ्चालित तालिमको उदघाटन कार्यक्रममा वडा सदस्यहरु राजभक्त सुनुवार, कृष्ण महतो, रेखा राजवंशी , दुर्गा परियार र प्राविधिक सन्तोष ढकाल लगायतको उपस्थिती रहेको थियो ।