दमक/ झापाको झिलझिलेस्थित इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) युवराज कटुवालमाथि एक समुहले एक्कासी बञ्चरो प्रहार गरेर घाईते बनाएको छ ।
घटनामा संलग्न तीन जना पक्राउ परेका छन । प्रहरीका अनुसार शिवसताक्षी नगरपालिका वडा नं. ९ झरना खोला पुलनजिक मोटरसाइकलमा आएका तीन जनाको समुहले प्रहरी निरिक्षक कटुवालको टाउकोमा बञ्चरो प्रहार गरेका हुन् ।
बिहीबार साँझ ६.५० बजेको समयमा केही व्यक्ति लागूऔषध ब्राउनसुगर सेवन गरिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक कटुवालको कमान्डमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले ३ जना सवार मे ४ प २७५१ नं. को मोटरसाइकललाई नियन्त्रणमा लिन खोजेको थियो । मोटरसाइकल जथाभावी लापरबाही ढंगबाट चलाएकोले रोकेर किन यसरी चलाएको भनी सोधपुछ गर्ने क्रममा मोटरसाइकल पछाडि सवार सोही ठाउँका ३६ बर्षिय अशोक पोखरेलले अचानक लुकाएर ल्याएको हाते बञ्चरोले कटुवालको टाउकोमा प्रहार गरेका थिए ।
कटुवालको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
टाउकोमा ८ टाँका र हातको औलामा ३ टाँका लगाइएको छ । मोटरसाइकल चालक सोही ठाउँ बस्ने बर्ष–३२ को विकास भनिने अरुण तामाङ र बीचमा सवार सोही ठाउँका ३३ बर्षिय लक्ष्मण टुडू र बन्चरो हान्ने पोखरेलसहितलाई मोटरसाइकल र बञ्चरो समेत नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।