दमक –५ को वडा कार्यालयले वडा वाल सञ्जालसंगको सहकार्यमा नृत्य तथा कविता विधाका उत्कृष्ट प्रतिभाको पहिचानका लागि कार्यक्रम गरेको छ । वडाको सामाजिक विकास अन्तर्गत बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि आज युगल नृत्य तथा कविता लेखन र वाचन प्रतियोगिता सञ्चालन गरेको हो ।
दिपीनि आधारभुत विद्यालयमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्य , उपप्रमुख गीता अधिकारीको विशेष आतिथ्य र दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङको अध्यक्षतामा सो कार्यक्रम उद्घाटन गरिएको थियो । कार्यक्रममा वडा सदस्य ख्यामकुमारी परियार ( सरु)ले स्वागत मन्तव्य राखेकी थिइन् ।
उद्घाटन कार्यक्रम वडाले र प्रतियोगिता सञ्चालन वडा वाल सञ्जालले गरिरहेको छ । सो अवसरमा वडा अन्तर्गत विभिन्न विद्यालय, बाल क्लबहरु र टोल विकासबाट प्रतिनिधित्व गर्ने बाल प्रतिभाहरुबीच ति विधामा प्रतिस्पर्धा गराइएको दमक ५ का वडा सचिव भोसकुमार थुलुङले जानकारी दिए । युगल नृत्य तर्फ विमल नेपाल र कमला खनाल निर्णायक रहेका छन । दुवै विधाका प्रतियोगितामा करिब ६० जना बालबालिका सहभागी हुने अनुमान गरिएको छ । प्रतियोगिताका उत्कृष्ट प्रतिभाहरुलाई पुरस्कृत गरेर हौसला प्रदान गर्ने कार्यक्रम रहेको सचिव थुलुङले बताए ।