दमक / नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्लामा पार्टीलाई एकताबद्ध बनाउँदै बलियो पार्टीका रुपमा उभ्याउन  आफुले हदैसम्मको लचकता अपनाएको बताएका छन । कांग्रेसको आन्तरिक विशेष अभियान अन्तर्गत जारी गाउँ / नगर सम्मेलनले पार्टीलाई नयाँ उर्जा मिल्ने सभापति थेवेको भनाई छ ।

कांग्रेस दमक नगर समितिको नगर सम्मेलनमा प्रमुख अतिथी समेत रहेका सभापति थेवेले पार्टीमा जिल्ला समिति विस्तारका बिषयलाई लिएर कतिपय नेता, कार्यकर्ताहरुले गरिरहेको टिप्पणीप्रति संकेत गर्दै भने– दमकदेखि मेचीनगर सम्म माथी चुलीदेखि दक्षिण बोर्डर सम्म हेर्नुस को चाहिं त्यस्तो गलत नेतृत्वलाई जिल्ला सदस्य बनाएको छु ? उनले पार्टीमा आफूले सबै हिसाबबाट सन्तुलन मिलाएर जिम्मेवारी प्रदान गरेको बताए ।


चुनावमा कांग्रेस हराउने कांग्रेसनै हुने गरेको भन्दै सभापति थेवेले आफू स्वयं त्यसको भुक्तभोगी रहेको समेत उल्लेख गरे । पार्टीको आन्तरिक विशेष अभियान चलिरहेका बेला सभापति थेवेले झापाको क्षेत्र नं ४ मा दुई पटक सम्म चुनावमा पराजय ब्यहोर्नुपरेको तितो यथार्थ पनि सुनाए । उनले जिल्लाभर कांग्रेसले एक हजार एक सय टोल समितिहरु ग्ठन गरिसकेको बताउँदै संगठन निर्माण तिब्र गर्ने र कार्यकर्ताहरु चलायमान बनाउने सिंगो जिल्ला कार्यसमितिको योजना रहेको पनि उल्लेख गरे ।

पार्टीका नगर सभापति प्रकाश प्रसाइँको सभापतित्वमा भएको सम्मेलनमा पार्टीको राजनीतिक तथा सामाजिक प्रतिवेदन र आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । प्रतिवेदनमाथि सुझाव राख्दै पूर्व नगर सभापति रोशन गौतमले नगरका सबै टोल टोलमा संगठन निर्माण गर्दै सक्रियता बढाउन आवश्यक भएको सुझाव राखे । त्यसैगरी सम्मेलनमा सहभागीहरु टंक ढकाल, कृष्ण धिमाल, रणबहादुर बराइली लगायतले पनि विभिन्न सुझावहरु राख्दै पार्टीलाई चलायमान बनाउन माथिल्लो तहबाटै कार्यक्रमहरु ल्याइनु पर्ने माग गरे ।


कार्यक्रममा पार्टीद्धारा नगर सम्मेलनका लागि तोकिएका जिल्ला प्रतिनिधि देवी दाहाललाई नगर सम्मेलनमा प्रस्तुत प्रतिवेदन सभापति प्रसाइँले हस्तान्तरण गरेका थिए । सो अवसरमा पार्टीका कोशी प्रदेश समिति सदस्य भुमिराज राई, चन्द्रा खडका, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, महाधिवेशन प्रतिनिधिद्धय सुरेश सुब्बा , मन्धरा चिमरिया पौडेल, प्रदेश क्षेत्र खका सभापति रवि न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । सम्मेलनमा पार्टीका जिल्ला उपसभापति शेरबहादुर भट्टराई, महाधिवेशन प्रतिनिधिहरु मेदनी प्रसाद सिटौला, अइन्द्र विक्रम केरुङ, सत्यनारायण चौधरी लगायतको आतिथ्य रहेको थियो ।  कार्यक्रमको सञ्चालन नगर सचिव रामचन्द्र अधिकारीले गरेका थिए ।

Facebook Comments Box