दमक/ विशेष आन्तरिक अभियान अन्तर्गत झापामा अधिकाँश वडा सम्मेलन गरेको नेपाली कांग्रेस अब पालिकास्तरको सम्मेलनमा केन्द्रित भएको छ ।
सो क्रममा भोली (बुधबार) दमक नगर सम्मेलन गर्ने तयारी भएको छ । कांग्रेसले यसअघि ९ भदौमा सम्मेलन गर्ने बिषयमा छलफल मात्रै चलेको तर पार्टीको स्थानीय नेतृत्वले ६ भाद्र अर्थात बुधबार सम्मेलन गर्ने टुंगो लगाएको हो ।
कांग्रेस नगर सभापति प्रकाश प्रसाइँका अनुसार दमक ५ स्थित नगर पार्टी कार्यालयमा हुने सम्मेलनको आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । दिउँसो १ बजे पार्टी कार्यालयमा हुने सम्मेलनमा वडा समिति, नगर समितिका अतिरिक्त नगरस्थित पार्टीको विभिन्न तह तप्कामा रहेका नेता कार्यकर्ताहरुको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनको उदघाटनका लागि उपल्लो तहका नेतृत्वसँग समन्वय भइरहेको सभापति प्रसाइँले बताए ।
प्रमुख अतिथीका लागि हामीले पार्टी नेताहरुसँग समन्वय र परामर्श गरिरहेका छौं , राष्ट्रिय र प्रदेशस्तरको राजनीतिक सरगर्मी पनि बढिरहकाले निश्चित भएको छैन, तर सम्मेलन ६ गतेनै हुन्छ– सभापति प्रसाइँले भने । नगर सम्मेलनमा व्यापक सहभागिताका लागि नगरस्थित वडा समितिहरुलाई सर्कुलर गरिएको उनले बताए ।
पार्टी नगर सचिव रामचन्द्र अधिकारीले सम्मेलनमा प्रस्तुत हुने प्रतिवेदन तथा पार्टी संगठनका गतिबिधिहरु र आगामी रणनीतिहरुका बारेमा व्यापक छलफल हुने जानकारी दिए ।
कमल गाउँसमितिले भने यसअघिनै गाउँ सम्मेलन सम्पन्न गरिसकेको छ । जिल्लामै पहिलो पटक कमल गाउँपालिका समितिले आफनो सम्मेलन करीब साता अघिनै सम्पन्न गरेको हो ।
केन्द्रीय सर्कुलर अनुसार वडामा पार्टी गतिबिधिहरुको समिक्षा, आगामी रणनीति तर्जुमा लगायतका बिषयमा केन्द्रित हुँदै यसअघि वडा सम्मेलनहरु सम्पन्न भइसकेका छन ।
पार्टीको आन्तरिक विशेष अभियानले कांग्रेसभित्रको एकतालाई थप बलियो बनाउँदै संगठन निर्माणमा टेवा पुग्ने विश्वास लिइएको पार्टीका युवा नेता एवं महाधिवेशन प्रतिनिधि मेदनी प्रसाद सिटौला बताउँछन ।