दमक/२० भदौमा भएको दमक उद्योग वाणिज्य संघको निर्वाचनमा भाग लिएका संयुक्त लोकतान्त्रिक व्यवसायी समुहका विजेता व्यवसायी नेताहरुको सम्मानमा संघीय सांसद तथा कांग्रेस नेतृ महेन्द्रकुमारी लिम्बुले आज विशेष कार्यक्रम आयोजना गरेकी छिन् ।
विजेताहरुलाई सम्मानसहित बधाई तथा सोही समुहका उपविजेताहरुलाई सान्तवना दिन सांसद लिम्बुले आयोजना गरेको सो कार्यक्रममा संघको निर्वाचनमा प्रत्यक्ष रुपमा सहभागी गठबन्धन दलका नेताहरु, संघका पूर्व अध्यक्षहरु लगायत विभिन्न पार्टी नेता कार्यकर्ता एवम् व्यवसायी नेताहरु सहभागी थिए ।
सो अवसरमा सांसद लिम्बुले निर्वाचित नेतृत्वलाई राजनीतिक आस्थाका आधारमा कसैलाई पनि विभेद नगरी व्यवसायीहरुको सफल र साझा नेतृत्व गर्न संघका नवनिर्वाचित अध्यक्ष गोकुल श्रेष्ठसहितको नेतृत्वलाई सुझावसहित शुभकामना दिइन् ।
उनले व्यवसायीहरुको एकतालाई कायम राख्दै राष्ट्र निर्माणमा योगदान गर्न निजी क्षेत्रलाई आव्हान समेत गरिन् । कार्यक्रममा दमक ७ का वडाध्यक्ष समेत रहेका राप्रपाका दमक नगर अध्यक्ष भीम प्रसाद पौडेल, दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय प्रसाद बराल समाजवादी पार्टी नेपालका देउकुमार नेम्वाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा नवनिर्वाचित अध्यक्ष गोकुल श्रेष्ठले आफूले व्यवसायीहरुबाट पाएको मतको उच्च सम्मान गर्दै व्यवसायिक हक हितका लागि इमान्दारिताका साथ लाग्ने प्रतिबद्धता जनाए ।
दमक उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनमा संयुक्त लोकतान्त्रिक व्यवसायीहरुको समुहले अध्यक्षसहित बहुमत स्थानमा जीत हासिल गरेपछि यस क्षेत्रमा सत्तारुढ नेकपा र नेकपा निकटका व्यवसायीहरुमाझ खैलाबैला मच्चिएको छ ।
संघको निर्वाचनबाट अध्यक्षमा लोकतान्त्रिक समुहका गोकूल श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा नेकपा निकटको प्रगतिशील समुहका गोपाल गुरागाइँ, प्रथम उपाध्यक्षमा लोकतान्त्रिकका राजु खड्का, द्धितीय उपाध्यक्षमा लोकतान्त्रिककै राजकुमार योङया र तृतीय उपाध्यक्षमा लोकतान्त्रिककै रमा लिम्बु निर्वाचित भएका हुन् ।
तृतीय उपाध्यक्षमा निर्वाचित रमाले दमक उद्योग वाणिज्य संघको पदाधिकारीमा निर्वाचन जित्ने पहिलो महिला हुन् । ६ बर्ष अघि भएको निर्वाचनमा उपाध्यक्षमा पवित्रा आचार्यले उम्मेद्वारी दिएकी भएपनि निर्वाचन जित्न सकेकी थिइनन् ।