दमक/ दमकमा १ भदौदेखि यातायात तथा ट्राफिक व्यवस्थापन सम्बन्धी नियमको कडाइँसाथ कार्यान्वयन शुरु भएको प्रचार धमाधम भइरहेको छ ।

जनप्रतिनिधि, कर्मचारीदेखि सरोकारवालाहरु फेसबुक, टिकटक आदि सामाजिक सञ्जालको अधिकतम उपयोग गर्दै यसको कार्यान्वयनमा चेतना जगाउने प्रयासमा छन ।
यहाँको यातायात तथा ट्राफिक व्यवस्थापन निक्कै लामो समयदेखि चुनौतीपूर्ण छ ।

त्यसैले पनि यसका लागि ट्राफिक प्रहरी, दमक नगर प्रहरी र जनपथ प्रहरीको समेत सहयोग लिएर स्थानीय सरकार जसरीपनि यहाँको ट्राफिक व्यवस्थापन सहज बनाउने ध्याउन्नमा लागेको देखिन्छ ।

तर यहाँ सवारीसाधनको बढी भिडभाड हुने र पार्किङ अव्यवस्थित हुँदा समस्या निम्तने खतरा रहेको क्षेत्रका रुपमा रहेको स्वास्थ्य संस्था ( निजी अस्पताल र क्लिनिकहरु) ले पर्याप्त पार्किङस्थल नछुट्टयाएर त्यस वापतको समस्याको भारी भने स्थानीय सरकारलाई बोकाइरहेका छन । ति संस्थाहरुले सम्बन्धित निकायमा दर्ता हुँदा ( सञ्चालन अनुमति लिनु पूर्व) नै आफना लागि पर्याप्त पार्किङस्थलको व्यवस्थापन आफैं गर्नुपर्ने व्यवस्था छ । तर अस्पताल तथा क्लिनिकहरुले अनिवार्य रुपमा आफैं व्यवस्थापन गर्नुपर्ने पार्किङस्थलको व्यवस्थापन यहाँ गरेका छैनन ।

दमक चोकमा दिनहुँ जसो सवारी पार्किङको समस्या यहाँका क्लिनिकमा आउने डाक्टर र बिरामी तथा औषधी पसलका ग्राहकहरुले ल्याउने सवारी साधनका कारण निम्तिने गरेको छ ।

यहाँको दमक फार्मेसी, मेची मेडिको, पूर्वाञ्चल फार्मेसी, हिमाल फार्मेसी, स्वर्णपार्वती डेन्टल, आमा डेन्टल, पोखरेल डेन्टल, झापा होमियो लगायतले पैदलयात्री हिंडने फुटपाथलाई नै पार्किङस्थलका रुपमा दुरुपयोग गरिरहेका छन ।

फार्मेसीले मात्रै होइन न्यूनतम मापदण्ड र शर्तहरु समेत पुरा नगरी सञ्चालन भइरहेको जेसीज चोक उत्तर फर्निचर लाइनमा रहेको दमक सौर्य अस्पताल, बेलडाँगी रोडमा रहेको ऊँ शान्ती डेन्टल हस्पिटल, लाइफलाइन अस्पताल, हाइवे टच रहेको दमक ९ स्थित निम्स नेशनल हस्पिटलले समेत पार्किङस्थलको पर्याप्त व्यवस्थापन गरेका छैनन ।
नगरपालिका रोडमा रहेको एडभान्स अस्पतालको अण्डरग्राउण्डमा सवारी पार्किङस्थल तोकिएपनि अधिकांश बिरामी बोकेर आएका सवारी तथा अस्पतालमा आउने सर्वसाधारणले अस्पताल अगाडी सडकमै सवारी साधन पार्किङ गर्ने गरेका छन ।

 

Facebook Comments Box