दमक/चाडपर्वको समय नजिकिँदै गर्दा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बाँस्तोलाले बाणिज्य बैकहरुसंग सुरक्षा सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया गरेका छन ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा आज सम्पन्न कार्यक्रममा नेपाल बैक, राष्ट्रिय बाणिज्य बैक, एन.एम.बि.बैक, ग्लोबल आई.एम.ई. बैक लगायत बिराटनगरस्थित सबै बैकहरुका प्रदेश प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले सुरक्षा सम्बन्धी बिभिन्न किसिमका जिज्ञासा तथा गुनासोहरु राखेका थिए ।
सहभागीहरुका गुनासा तथा जिज्ञासाहरुको समाधान गर्दै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बास्तोलाले बैक तथा बित्तीय संस्थाहरुको सुरक्षामा नेपाल प्रहरी बिशेष रुपमा चनाखो रहेको बताए ।
उनले थप सुरक्षाका रणनीतिहरु अबलम्बन गरी बैकिङ क्षेत्रमा विशेष सुरक्षा दिलाउने प्रतिबद्धता जनाए । कर्यक्रममा प्रदेश प्रहरी कार्यालय बिराटनगरका सिनियर प्रहरी अधिकृतहरु समेत सहभागी थिए ।
भदौदेखि नेपालीहरुका राष्ट्रिय चाड पर्वहरुको याम शुरु हुने र बजारमा चहलपहल बढनुका साथै वित्तीय संस्थाहरुमा मानिसहरुको भिडभाड हुने भएकाले सुरक्षा निकायले हुन सक्ने सम्भावित चोरी तथा लुटपाटका घटना र त्यस्ता घटना हुन नदिन अपनाउने सुरक्षा रणनीतिलाई महत्वसाथ हेर्ने गरिन्छ ।