दमक/ बिद्यार्थीहरुलाई व्यवहारिक सीपको अभ्यासका लागि झापाको कमल ३ स्थित लालिमा अंग्रेजी माविले साताको एक दिन सीपमुलक शिक्षा विशेष कक्षा सञ्चालन गर्न शुरु गरेको छ ।
निजी तथा संस्थागत बिद्यालयहरुको छाता संगठन प्याव्सनका जिल्ला अध्यक्ष समेत रहेका सो बिद्यालयका संस्थापक प्रिन्सिपल गौरीमान फागोका अनुसार साताको हरेक बुधबार मात्र (एकदिन) बिद्यार्थीहरुलाई समुह समुह बनाएर विभिन्न किसिमका व्यवहारिक सीपबारे ज्ञान दिलाउने उद्धेश्यले किताबरहीत सीपमुलक शिक्षा विशेष कक्षा सञ्चालन गरिएको हो ।

बिद्यालयमा हिजो (बुधबार) देखि शुरु गरिएको सीपमुलक सो विशेष कक्षामा उत्साहपूर्वक बिद्यार्थीहरु सहभागी भएका छन । सीपमुलक शिक्षा अन्तर्गत बिद्यार्थीहरुलाई हस्तकलाका सीपहरु सिकाउने व्यवस्था मिलाइएको छ । कक्षा ६ देखि १० सम्मका बिद्यार्थी (छात्र)हरुले बाँसका चोयाको डोको , पेरुङगो र कुखुरा बोक्ने , छोप्ने कार्यमा उपयोगी (खुँगी) बनाउन सिकिरहेका छन भने छात्राहरुले टपरी र सिलाई बुनाइका बुन्ने सीप सिकिरहेका छन ।

कक्षा ६ भन्दा मुनिका कक्षाका बिद्यार्थीहरुले भने कागज काटने, माटोका विभिन्न भाँडाकुँडा बनाउने आदी सीप सिकिरहेका छन । बिद्यालयले ठुला बिद्यार्थीहरुका लागि इलेक्ट्रेसियन तथा मोवाइल मर्मत सम्बन्धीको सीप पनि सिकाउने लक्ष्य राखेको छ । प्रिन्सिपल फागोले भने–मैंले काठमाडौंका केही बिद्यालयहरुको अभ्यास हेरेको थिएँ, त्यहाँका बिद्यार्थीहरुले मोवाइल बनाउने सीप पनि सिकिरहेका छन ।
ठाउँ र यहाँको आवश्यकता अनुसारका सीप सिक्न प्रेरित गर्ने हाम्रो उद्धेश्य हो । बिद्यार्थीलाई सिकाइने व्यवहारिक सीप जानेका स्थानीय सिल्पीहरु हायर प्रशिक्षकको बन्दोबस्ती मिलाइएको छ ।
व्यवहारिक शिक्षाले परम्परागत घरायसी सामग्रीहरुको बारेमा बालबालिकालाई ज्ञान दिलाउनुका साथै श्रम र सीपको बानी बिकासमा समेत मद्धत पुरयाउने भएकाले यस किसिमको सीपमुलक विशेष कक्षा सञ्चालन गरिएको फागोले बताए । २०५३ सालमा स्थापना लालिमा बोर्डिङ स्कूल झापा जिल्लामै स्थापित बिद्यालय हो । यसले कक्षा १० सम्मको पठनपाठन गराउँदै आएको छ । हाल सो बिद्यालयमा ४ सय ५० जना बिद्यार्थी अध्ययनरत रहेका जनाइएको छ ।