दमक/ दमक नगरपालिकाको ट्राफिक व्यवस्थापन सहज बनाउन बजार क्षेत्रका सडकमा एक तर्फी पार्किङको व्यवस्था गरिनुका साथै ठुला सवारी साधनलाई बजार क्षेत्रमा निश्चित समय मात्रै प्रवेश अनुमती दिइने भएको छ । मालबहाक ठुला सवारी साधन बिहान र बेलुका मात्रै प्रबेश गर्न पाउने गरी ट्राफिक व्यवस्थापनको नयाँ योजना बनाइएको हो । बजार क्षेत्रको सडक व्यवस्थापन सहज बनाउन सरोकारवालाहरुसंग नगरपालिकाले छलफल समेत गरेको छ ।
नगरमा क्रियाशील राजनैतिक दलका प्रमुखहरु, ईलाका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, सम्बन्धित टोल बिकास संस्थाका प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि सहितको छलफलमा नगर प्रमुख राम कुमार थापाले नगरपालिकाको ट्राफिक व्यवस्थापन सहज बनाउन बिभिन्न योजना तयारी गरेको जानकारी दिए । उनले नगरपालिकाको मुख्य चौक देखी बेलडाँगी रोड, जेसीज चौकबाट फर्निचरलाईन, थाना लाईन हुँदै बजार जाने सडक, बसपार्कबाट हनुमान मन्दिर हुँदै फाल्गुनन्द चौक जाने सडक र फाल्गुनन्द चौकबाट संगम चौक सम्मका सडकहरुलाई एकतर्फी मात्रै पार्किङ गराईने , पुर्वपश्चिम राजमार्गको निश्चित ठाउँदेखी बाहेक अन्यत्र सवारी साधन रोक्न नपाईने, सिटी सफारीको निश्चित पार्किङ क्षेत्र तोकिने लगायतका योजना रहेको बताए ।
उनले बजार क्षेत्रका सडमा पन्ध्र दिन एक किनारमा र अर्को अर्को पन्ध्र दिन अर्को किनारमा मात्रै एकतर्फी पार्किङ गरिने गरी तयारी गरिएको जानकारी दिए ।
कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्टराईले नगरपालिकाको योजना कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको बताइन । नगरलाई नमुना नगर बनाउ आफुहरु लागि परेको भन्दै उनले सबै पक्षको सहयोगबाट मात्रै कार्यान्वयन प्रक्रिया सहज हुने उल्लेख गरिन ।
छलफल कार्यक्रममा दमक उद्योग बाणीज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाईं, ईलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख सुरेन्द्र खड्का, राजनीतिक दलहरुको तर्फबाट नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराई लगायतले बोल्दै नगरपालिकाको योजना कार्यान्वयनमा आफुहरुको तर्फबाट पुर्ण समर्थन रहेको बताए ।

नगरपालिकाकाको यातायात तथा ट्राफिक व्यवस्थापन समितिका संयोजक प्रजापति सापकोटाले स्थानीय सरकारले यहाँको आवश्यकता अनुसार ट्राफिक व्यवस्थापनका लागि प्रयास गरिरहेको बताए ।

Facebook Comments Box