दमक/ झापाको दमक नगरपालिका वडा नं ५ स्थित एकता टोलमा एक दाता परिवारले साढे ५ लाख बढीको निजी खर्चमा स्वागतद्धार निर्माण गरि टोल बिकास संस्थालाई हस्तान्तरण गरेका छन ।
सो ठाउँका उमेशकुमार खत्री तथा गोमा निरौला खत्रीकी छोरी उषा दाहाल र ज्वाइँ जेकी जटकी सुपुत्री मेहेरिन जटको जन्मदिनको अवसर पारेर सो परिवारले निर्माण गरिदिएको स्वागतद्धारको आज (शुक्रबार) दमक नगर प्रमुख रामकुमार थापाले उदघाटन गर्नुका साथै टोल बिकासलाई हस्तान्तरण गरिएको हो । सो स्वागतद्धार दमक नगरपालिकाले तय गरेको मापदण्ड भित्र रहेर निर्माण गरिएको बताइएको छ । उदघाटनसँगै त्यहाँ लेखिएको शिलालेखको समेत नगर प्रमुख थापाले अनावरण गरेका छन ।

कार्यक्रममा दाता परिवारलाई सम्मान गर्दै नगर प्रमुख थापाले समाजमा यसकिसिमको योगदानको उच्च प्रशंसा गरे । उनले दमकको बृहत्तर बिकास हितका लागि स्थानीय सरकारले चालेका कदमहरुमा नगरबासीहरुको साथ सहयोगको अपेक्षा राखेको पनि उल्लेख गरे ।
एकता टोल बिकास संस्थाका अध्यक्ष टेकनाथ तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा दमक ५ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङ, वडा सदस्यहरु गोपाल संग्रौला, शोभा बेल्बाँसे, शान्ति टोल बिकास संस्थाका अध्यक्ष पुष्यप्रसाद भट्टराई, साथीभाई समुहका अध्यक्ष गंगाप्रसाद सिटौला लगायतले पनि दाता परिवारले चिरकाल सम्म स्मरण गरिरहन सकिने यस किसिमको समाज बिकासमा गरेको योगदान उदाहरणीय भएको चर्चा गरे ।
कार्यक्रममा टोल बिकास संस्थाका सचिव दिपक बरालले स्वागतसहित कार्यक्रमको औचित्यबारे प्रष्टयाएका थिए भने दिपेन्द्र तिवारीले सञ्चालन गरेका थिए । सो अवसरमा जग्गादाता परिवार देउमान साम्रा लिम्बु र शुकबहादुर कन्दङवा एकता टोल, शान्ति टोल , बुद्ध टोल लगायतका आसपासका सर्वसाधारणहरुको बाक्लो उपस्थिती रहेको थियो ।
