दमक/ भारतको हैदरावादमा सञ्चालित ७ औं दक्षिण एशियाली आइटिएफ प्रतियोगितामा नेपालले दोश्रो स्थान ओगटन सफल भएको छ ।
अगष्ट ४ देखि ६ तारिख सम्म सञ्चालित सो प्रतियोगितामा नेपालले २२ स्वर्णसहित दोश्रो स्थान ओगटन सफल भएको हो । कूल १० देशको सहभागिता रहेको प्रतियोगितामा नेपालले १५ रजत र २५ काँस्य गरी कुल ६२ पदक हात पारेको जनाइएको छ ।
प्रतियोगितामा आइटिएफ तेक्वान्दो संघ झापाबाट सहभागी दुई खेलाडी मध्ये एक जनाले स्वर्ण र एक जनाले रजत पदक जितेका छन । स्वर्ण पदक बिजेता रोसन मगर हुन भने रजत पदक बिजेता श्यामप्रसाद बाँस्कोटा हुन ।
दमक निवासी ति दुवै अन्तराष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडी र प्रशिक्षक नवीन तामाङलाई दमक ७ का वडाध्यक्ष भिम पौडेलको प्रमुख आतिथ्यमा बुधबार विशेष सम्मानसहित नगर परिक्रमा गराइएको छ ।
सो अवसरमा प्रमुख अतिथी पौडेलले दमकका खेलाडीहरुले अन्तराष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक जिताएर देशकै शिर उचो बनाउन विशिष्ट योगदान गरेको भन्दै उच्च प्रशंसा गरे । सो अवसरमा तेक्वान्दो संघ झापाका सस्थापक अध्यक्ष एवम् संरक्षक बबरजङ्ग थापा किरणको विशेष आतिथ्य रहेको थियो भने सल्लाहकार रबि केसी, लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टका अध्यक्ष भगवान बस्नेत, दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु खडका एवम् क्लब का पदाधिकारी एवम् सदस्यहरुको उपस्थिती रहेको थियो ।
प्रमुख अतिथी, विशेष अतिथीहरुसहितले फुलमालासहित अविरजात्रा गरेर पदक विजेता खेलाडी तथा प्रमुख प्रशिक्षकसहितको खेलाडी टिमलाई सम्मानसहित नगर परिक्रमा गराइएको थियो ।
