दमक/ अरुण पूर्वका ९ जिल्ला लिम्बुवानलाई विसं १८३१ को श्रावण २२ गते नेपाल एकीकरणका क्रममा सिंगो नेपालमा गाभ्ने सम्झौताको विरोधमा विभिन्न पार्टी तथा संगठनहरुले आज यस क्षेत्रमा गरेको बन्दको आंशिक प्रभाव परेको छ ।

दमकसहित पूर्वका बजारहरुमा माइकिङ तथा विभिन्न माध्यमबाट प्रचार प्रसार गर्दै आजको दिनलाई कालो दिनका रुपमा लिएर बन्द हडताल गरिदिन गरेको आव्हानका कारण यस क्षेत्रमा आंशिक प्रभाव परेको हो ।

बन्दका कारण यहाँका अधिकांश शिक्षण संस्थाहरुमा नियमित पठनपाठन हुन सकेन । पूर्वी पहाडी जिल्लाहरुमा यातायातका साधनहरु चल्न सकेनन भने पूर्वपश्चिम राजमार्गमा भने बन्दको प्रभाव न्यून मात्रामा परेको छ ।

राजमार्ग अन्तर्गत दमकसहित विभिन्न ठाउँमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन भएको देखिएको छ भने बजारका धेरै जसो पसलहरु पूर्ववत सञ्चालनमा आएका छन ।

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, जनता समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवार राष्ट्रिय समिति (लोसपा),किराँत खम्बुवान राज्य परिषद र किराँत लिम्बुवान राज्य परिषद र लिम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त अपिल गर्दै बन्द आव्हान गरेका थिए । ति संगठनहरुले जारी गरेको संयुक्त विज्ञप्तीमा लिम्बुवान घोषणा नभए सम्म हरेक बर्ष २२ साउनलाई कालो दिनका रुपमा लिँदै सोको विरोधमा बन्द आव्हान गरिने चेतावनी समेत दिइएको छ ।

Facebook Comments Box