दमक/ दमक ८ स्थित झापा मोडल अंग्रेजी माविले भलिबल खेलाडी बिद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप छात्रवृत्ती दिने सम्झौता गरेको छ ।
भलिबल संघद्धारा हिमावि खेलकुद मैदानमा सञ्चालित प्रदेश भलिबल तालिम केन्द्रका अनुशासित र उत्कृष्ट प्रशिक्षार्थी खेलाडी बिद्यार्थीहरुलाई झापा मोडलले अध्ययनमा निरन्तर प्रोत्साहनका लागि छात्रवृत्ती दिने भएको हो ।
आज (शुक्रबार) तालिक सञ्चालन भइरहेको स्थल हिमावि खेलमैदानमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा र भलिबल खेलका राष्ट्रिय प्रशिक्षक कपिलकिशोर श्रेष्ठको रोहबरमा सो सम्बन्धि सम्झौतामा सम्बन्धित पक्षहरुबीच हस्ताक्षर भएको छ ।

सम्झौतामा भलिबल संघका तर्फबाट संघका कोशी प्रदेश अध्यक्ष खेम राई, झापा जिल्ला अध्यक्ष शैलेस श्रेष्ठ र संघका ताप्लेजुङ जिल्ला अध्यक्ष कृष्ण चेम्जोङले हस्ताक्षर गरेका छन भने झापा मोडलका तर्फबाट प्रिन्सिपल सागर श्रेष्ठले हस्ताक्षर गरेका छन ।
सो तालिम केन्द्रमा प्रशिक्षार्थीका रुपमा रहेका कक्षा ९ देखि १२ सम्मका बिद्यार्थीहरुलाई छात्रवृत्तीका लागि भलिबल संघको सिफारिस अनिवार्य रहने सम्झौतामा उल्लेख छ । संघले सिफारिस गरेका छात्रवृत्ती पाउन योग्य बिद्यार्थीहरु अनुशासित, नैतिकवान एवं चरित्रवान हुनुपर्ने लगायतका विविध शर्तहरु गरिएका छन ।

झापा मोडलले यसअघि दमककै ध्रुवतारा स्पोर्टिङ क्लबसँग पनि फुटबल खेलाडी प्रशिक्षार्थीहरुलाई छात्रवृत्ती दिने सम्बन्धि सम्झौता गरेको थियो । सो सम्झौता अनुसार ध्रुवताराको सिफारिसमा हाल २ जना फुटबल खेल प्रशिक्षार्थीहरुले झापा मोडलबाट छात्रवृत्ती पाउँदै आएका छन । बिद्यालयका प्रिन्सीपल सागर श्रेष्ठले बिद्यालयको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न बिधामा छात्रवृत्ती प्रदान गरिँदै आएको बताए । उनले यस किसिमका सामुहिक हित हुने किसिमका कार्यक्रमहरुमा समुदायका सबै पक्षसँग सहकार्य गरेर अघि बढन आफनो बिद्यालय तयार रहेको बताए ।

बिद्यालयका संस्थापक अध्यक्ष जयबहादुर श्रेष्ठले झापा मोडलले बिद्यालयले नियमित अध्ययन अध्यापनका अतिरिक्त बाह्य अतिरिक्त कृयाकलाप र सामाजिक सेवाका कामहरुमा स्थानीय सरकारसँग हातेमालो गरेर अघि बढ्न चाहेको उल्लेख गरे । भलिबलसँग सम्बन्धित सम्झौता हेर्नुहोस जस्ताको तस्तै
