दमक/ झापामा डेंगीले महामारीको रुप लिने खतरा देखिएको छ ।

डेंगीका संक्रमणका कारण रगतमा प्लेटलेट्सको मात्रा घटदै जाने भएकाले यसका कारण संक्रमितको ज्यानै जान थालेको भन्दै सरोकारवालाहरुले चिन्ता समेत व्यक्त गरेका छन ।
उनीहरुले डेंगी रोकथाम तथा नियन्त्रणमा समुदायको साझा भुमिका हुने पनि औंल्याएका छन ।
दमक नगरपालिकामा जिल्ला स्वास्थ्य कार्यालय झापाले बुधबार ( आज) आयोजना गरेको डेंगी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखीकरणमा सहभागीहरुले त्यस्तो औंल्याएका हुन । पानी पर्दै घाम लाग्दै गर्ने मौसममा पानी जमेको ठाउँमा लामखुटट्ेको लार्भा बढी उत्पादन हुने भएकाले लामखुट्टेको लार्भा नष्ट गर्नका लागि समुदायस्तरबाटै अभियान शुरु गरिनु पर्ने कार्यक्रममा औंल्याइयो ।

मच्छड अर्थात लामखुट्टे मार्नका लागि बिषादी छर्किने विधि विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरित हुने र यसबाट मानव स्वास्थ्यमा थप समस्या हुने भएकाले लार्भाको खोजी र नष्ट अभियाननै निर्विकल्प उपाय भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए । उनले जिल्लामा पछिल्लो समय साउन ८ गते सम्ममा तीन जनाको डेंगीको संक्रमणबाट ज्यान गएको र सोही अवधिमा २१ ज्नामा डेंगी संक्रमण पुष्टि भएको जनाउँदै सबै अस्पतालहरुबाट डेंगीका बिरामीको संख्या प्राप्त हुन बाँकी रहेको पनि जनाए । बाह्रकोटीले भने– भर्खरै यो यो कार्यक्रम चलिरहेको समयमा पनि दमकमा थप डेंगी पोजिटिभ देखिएको रिपोर्ट आएको छ । पछिल्लो अपडेट अनुसार किओच बाल अस्पतालमा १४ जना र निम्स नेशनल अस्पतालमा १३ जनामा डेंगीको संक्रमण देखिएको भन्दै बाह्रकोटीले यसलाई निक्कै खतराको संकेतका रुपमा लिइएको बताए ।

सो अवसरमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले डेंगीको संक्रमणले धेरैनै प्रभाव पारेको बताउँदै मच्छड मार्ने विषादीको प्रयोग गरिन नसकिने भएकाले आवश्यक सतर्कता र स्वास्थ्य चेतना अपनाउनुनै सबैको साझा दायित्व भएको बताए । उनले विपन्नहरुको निशुल्क उपचारका लागि दमक नगर अस्पतालमा १० वटा बेड छुटयाइएको जानकारी दिँदै नगरबासीको स्वास्थ्य सुरक्षाको जिम्मेवारीबाट स्थानीय सरकार पछि हटन नमिल्ने र नहटने प्रतिबद्धता जनाए ।
नगर उपप्रमुख रेगिना भटट्राईले लामखुट्टेको टोकाइबाट हुने यो संक्रमणबाट बच्न घर घरमा सावधानी र सतर्कता अपनाउन नगरबासीहरुलाई आग्रह गरिन । उनले नगरबासी सबै नागरिकहरुको साझा पहल र प्रयासमा मात्रै यो संक्रमणलाई टार्न सकिने वैज्ञानिक तथ्यलाई आत्मसाथ गर्न आव्हान गरिन ।

सो अवसरमा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापाले सम्बन्धित निकायबाट सार्वजनिक भएको तथ्याङक भन्दा धेरै डेंगीको संक्रमण फैलिइसकेकाले यसमा स्थानीय सरकारको तर्फबाट उपचारका लागि गरिनुपर्ने बन्दोबस्ती हुने प्रतिबद्धतासहित नागरिकहरुमा सचेतना जगाउन समुदायका सबै पक्षको साझा जिम्मेवारी हुने बताए ।
दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले विगतमा पनि दमकमा डेंगी संक्रमणले ठुलो रुप लिएको तथ्य रहेको हुँदा आवश्यक सावधानी र सतर्कता अपनाएर यसबाट जोगिनुनै उत्तम उपाय भएको औंल्याए ।

Facebook Comments Box