दमक/ दमकमा जारी प्रदेशस्तरीय अन्तर कलेज फुटसल प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ ।
दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भइरहेको प्रतियोगितामा आज सेमिफाइनलका दुई खेल र फाइनल प्रतिस्पर्धा हुनेछ ।
सम्पन्न खेलमासुकुना बहुमुखी क्याम्पस, काँकरभिटटा बहुमुखी क्याम्पस, मेची बहुमुखी क्याम्पस र मोडल क्याम्पस दमक अन्तिम चारमा प्रवेश गरेका छन् । सुकुनाले महेन्द्र बहुमुखी क्याम्पस धरानलाई ७–० को फराकिलो गोल अन्तरले हरायो । काँकरभिटटाले महेन्द्र मोरलाई ६–२ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्याे । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेलमा आयोजक दमकको बि टिमलाई मेचीले ५–० को गोलले हरायो । अन्तिम क्वार्टर फाइनलमा आयोजकको ए टिम मोडल क्याम्पस दमकसँग ७–३ गोल अन्तरले पराजित भयो । आज हुने पहिलो सेमिफाइनल खेलमा मोडल क्याम्पस दमकले काँकरभिटटको सामना गर्नेछ भने सुकुनाले मेचीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
आयोजक युनियन सभापति सोविम न्यौपानेका अनुसार प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २१ वटा क्याम्पसले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको फाइनल खेल आज दिउँसो २ बजे हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद एक लाख, टफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ५० हजार, टफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्नेछ । त्यस्तै, विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।