दमक/ झापाको दमकमा कक्षा ११, १२ को पठनपाठनका लागि निजी शैक्षिक संस्थाहरुले चर्को शुल्क असुल्दै बिद्यार्थी भर्ना गर्न थालेका छन ।
कक्षा ११ , १२ सहितको अध्यापन गराउँदै आएका शिक्षण संस्थाहरुले नियमानुसार स्थानीय सरकारद्धारा शुल्क निर्धारण नहुँदै आआफनै शुल्क दर कायम गरेका हुन ।
स्थानीय सरकार मातहतको नगर शिक्षा समिति शुल्क निर्धारणको प्रकृयामा रहँदै शैक्षिक संस्थाहरुले भने आफू खुशी हुँदै नभएका सेवा सुविधाका शीर्षकमा समेत अग्रिम शुल्क असुलेर अभिभावकको ढाड सेकिरहेका हुन ।
सरकारी अधिकारीहरु समेत निजी शैक्षिक संस्थाका बिषयमा बुझने प्रकृयामा रहेको भन्दै त्यस्ता संस्थाको बचाउ प्रयासमा लागेका छन । नगरपालिकाका शिक्षा अधिकृत सोम गुरागाइँ अन्य ठाउँको प्राक्टिसका बारेमा बुझ्ने काम भइरहेको बताउँछन ।
शारदा माविको कक्षा ११ मा भर्ना लिइरहेको युनिक कलेजसँगै अर्को झापा क्याम्पस नाम जोडेर विज्ञापन गरिरहेको संस्थाले कक्षा ११ मा बार्षिक शुल्क मात्रै ३८ हजार ५०० रुपैयाँ लिइरहेको छ ।
आस्था कलेज दमकको नाम जोडर सञ्चालित एकता एकाडेमीमा बार्षिक ४० हजार देखि ७० हजार रुपैयाँसम्म कक्षा ११ को अध्ययनका लागि शुल्क लिइरहेको बताइएको छ । करिब ३०० बिद्यार्थी यसपटक भर्नाको प्रकृयामा रहेको सो एकाडेमीले व्यवस्थापन संकाय र होटल मेनेजमेन्टका लागि बिद्यार्थी भर्ना लिइरहेको हो । एकाडेमीका प्रमुख टेकनाथ भण्डारीले बिद्यार्थी भर्नाको क्रम चलिरहेको बताए ।
दमककै अर्को शैक्षिक संस्था ग्लोबल एजुकेशन एकाडेमीले समेत उस्तै चर्को शुल्क लिएर कक्षा ११ मा बिद्यार्थी भर्ना लिइरहेको छ । सो एकाडेमीले विभिन्न संकायमा यसबर्ष ८०० बिद्यार्थी भर्ना लिने योजना बनाएको प्राध्यापक श्याम आचार्यले बताए । सिद्धार्थ मावि र मोडल कलेजको नाम जोडेर मदरल्याण्ड स्कूलले पनि कक्षा ११ मा उसैगरी चर्को शुल्क असुल्दै बिद्यार्थी भर्ना लिइरहेका छन ।
दमक नगर शिक्षा समितिका संयोजक कुबेर भटटरार्ईले कक्षा ११ को शुल्क निर्धारणका लागि स्थानीय सरकार अन्तिम तयारीमा रहेको बताए । उनले नगरपालिकाद्धारा गठन गरिएको शुल्क निर्धारण समितिले कक्षा ११ को शुल्क निर्धारण गरिनसकेको बताए ।
उनले नगरमा सञ्चालित कक्षा ११, १२ विशेष अध्यापन गराउने बिद्यालयले ति कक्षामा लिने मासिक शुल्क लगायत सबै किसिमका शुल्कको अंक निर्धारण गर्ने र यसको कडाइँसाथ कार्यान्वयनमा लाग्ने बताए ।
दमकमा स्थानीयका अतिरिक्त आसपासका पालिका र पूर्वी पहाडी जिल्लाहरुबाट समेत ठुलो संख्यामा बिद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि आउने गर्छन । ति बिद्यार्थी ओसारपसारका लागि सवारी साधन प्रयोग वापत, प्राक्टिकल वापत, पुस्तकालय, व्यवस्थापन लगायतका शीर्षकमा थप रकम यि शैक्षिक संस्थाहरुले असुल्ने गरेका छन ।
Facebook Comments Box