वाणिज्य संघमा नेकपा समर्थित कविताले किन दिनु पर्यो स्वतन्त्र उम्मेद्वारी

Author Nishkarsha News
२०७६ भाद्र १३, शुक्रबार १०:१०

दमक/ कविता पौडेल अधिकारी यस पटकको दमक उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र व्यवसायीको हैसियतबाट महिला सदस्य पदकी उम्मेद्वार हुन् ।

 

३ बर्ष अघिनै दमक उद्योग वाणिज्य संघको चुनावमा सम्भावित उम्मेद्वारका रुपमा हेरिएकी कविताले नेतृत्व वर्गबाट अर्को पटकको चुनावमा उम्मेद्वार बनाउने आश्वासन पाएकी थिइन् ।  पारिवारिक रुपमा विद्यार्थीकालदेखिनै तत्कालिन नेकपा एमालेको समर्थक कार्यकर्ताका रुपमा रहेकी कविता दमकमा २ बर्ष अघि भएका स्थानीय तह, संघ र प्रदेशका निर्वाचनमा समेत खुलेर पार्टीका उम्मेद्वारहरुको प्रचार प्रसारमा लागेकी थिइन् ।
यस पटकको चुनावमा उनलाई केहि निर्वाचित जनप्रतिनिधि र पार्टी, तथा व्यवसायीका अगुवा नेताहरुलेनै महिला सदस्यमा उम्मेद्वारीको तयारी गर्न लगाएको र हाल आएर एकाएक पाखा लगाएको भन्दै उनले विद्रोहको साहस गरेकी छिन् ।

सशक्त महिला उम्मेद्वारका रुपमा हेरिएकी कविताको उम्मेद्वारी दर्तासंगै पार्टी र व्यवसायीका स्थानीय नेताहरुबीचमा हलचल मच्चिएको छ ।

दाजु ध्रुवकुमार पौडेललाई आफ्नो राजनीतिक, सामाजिक जिवनको प्रेरणाको स्रोतका रुपमा लिने कविताले २०६० सालमा धुलाबारीको कवि शिरोमणी माविबाट एसएलसी उत्तिर्ण गरेर धुलाबारी बहुमुखी क्याम्पस, कन्काई क्याम्पस विर्तामोड र दमकको दमक बहुमुखी क्याम्पसमा समेत उच्च शिक्षा लिएकी हुन् ।

१४ बर्ष अघि जुत्ता, चप्पल , थान कपडा हुँदै १२ बर्षदेखि लगातार फेन्सी तथा रेडिमेड कपडाको व्यापारमा संलग्न कविता विभिन्न धार्मिक मठ मन्दिर, सामाजिक संघ संस्थाहरुमा समेत आवद्ध भई सामाजिक काममा समेत उत्तिकै सक्रिय छिन् ।

दमक –६ नमुना मार्गस्थित पोखरेल मार्केटमा रहेको स्मृती फेन्सी स्टोर सञ्चालन गर्दै आएकी कविताले आफूमाथि मात्रै नभएर आम व्यवसायीहरुमाथि पार्टी नेताहरुले अन्याय गरेको महसुस गरेर न्यायका लागि स्वतन्त्र रुपमा उम्मेद्वार बन्न बाध्य भएको बताएकी छिन् । दमकमा आधा भन्दा बढी संख्यामा व्यवसाय गर्ने महिलाहरु नै भएपनि संघको नेतृत्वमा पुग्न सधैं महिलाहरुलाई रोक लगाइएको भन्दै महिलाहरुलाई अग्रस्थान मा उम्मेद्वारीको अवसर दिलाउन आफूले विद्रोह गर्नुपरेको उनले बताइन् ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्