दमक/ तीन जना भारतीयलाई नेपाली नागरिकता बनाइदिने भन्दै रकम असुलेर ठगी गर्ने एक जना भारतीय नागरिक दमकमा पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भारतको विहार राज्य दरभंगा जिल्ला अलिनगर ग्राम पञ्चायतका २७ वर्षीय मुकेश ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । एसपी दुर्गाराज रेग्मीका अनुसार ठाकुरले दमक नगरपालिका–९ स्थित लक्ष्मी टोलमा डेरा गरी बस्ने तीन जना भारतीयलाई नेपाली नागरिकता बनाइदिने आश्वासन दिएर जनही एक ÷ एक लाख रुपैयाँ लिएका थिए ।

ठाकुर पनि त्यही वडामा डेरा गरी बस्दै आएका थिए । त्यसवापत ठाकुरले  भारतीय नागरिकहरूको नेपाली नागरिकता बनाइदिने भन्दै खगमाया बास्कोटा, सुमन मुखिया र युवराज मण्डलसँग जनही एक/एक लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको एसपी रेग्मीले बताए ।
ठाकुरलाई नगद रकम बुझाए पनि नागरिकता पाउने अवस्था नदेखेपछि ठगिएकाहरूले नै प्रहरीमा उजुरी गरेपछि यो बिषय बाहिर आएको हो । पक्राउ परेका ठाकुरले उनीहरूबाट उठाएको रकम शैलेन्द्र भुजेललाई बुझाएको प्रहरीलाई बताएको छ ।

भुजेलले २ महिनाभित्र नागरिकता नबनाइदिए चेकबाट भुक्तानी फिर्ता लिनु भनी आफ्नो खाता भएको बैंकको चेकहरू काटी दिएका थिए । तर, उनले पनि नागरिकता नबनाई दिएको र रकम पनि फिर्ता नगरेको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ ।
ठाकुरलाई ठगी मुद्दामा झापा जिल्ला अदालत भद्रपुरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
नेपाल नागरिकता ऐन, २०७९ (पहिलो संशोधन) जारी भएपछि जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु भएपछि प्रहरीले विशेष निगरानी बढाएको बताइएको छ । श्रोत: टाइम्स अफ प्रदेश बाट  साभार

Facebook Comments Box