दमक/ दमक नगरपालिकाका प्रमुख रामकुमार थापा दमकका ट्राफिक प्रहरीको व्यवहार जिम्मेवारपूर्ण नभएको भन्दै सोमबार ट्राफिक सप्ताह समापन कार्यक्रममै झ्ँवाक्किएका छ्न ।

उनले ट्राफिक प्रहरीले नगरको यातायात तथा ट्राफिक ब्यवस्थापनमा नसघाएको र हाइवेमा टिफर , ट्र्याक्टर भारतीय मालबाहक सवारी साधन चेकिङमा मात्रै केन्द्रित भएको भन्दै कडा आलोचना गरे ।
ट्राफिक प्रहरी र दमकको ट्राफिक तथा यातायात ब्यवस्थापन समितिले आयोजना गरेको ट्राफिक सप्ताह समापन कार्यक्रमको प्रमुख आतिथी समेत रहेका मेयर थापाले ट्राफिक प्रहरीले दमकमा स्थानीय सरकारलाई नटेरेको र ब्यवस्थापन सहज बनाउन कुनै भुमिका नखेलेको भनी यश किसिमका सप्ताह कार्यक्रमको औचित्य नहुने पनि जिकिर गरे ।

मेयर थापाले यो बसपार्क , भित्री बाटो, भिडभाड हुने ठाउमा दुइ जना ट्राफिक जवान खटाएर आफ्नो जिम्मेवारी पूरा नगर्ने ट्राफिकले हाइवेमा के आउछ भन्दै ढुकेर बस्न चाहिँ भ्याउने ? भन्दै ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख सुन्दर श्याम पोखरेल तर्फ नजर लगाए ।

सिटी , अटो चालक तथा मजदुरहरुलाई लक्षित गर्दै मेयर थापाले भने– यो कार्यक्रम मजदुरहरुको कार्यक्रम होला भन्ने सम्झिएर म आए , ट्राफिकको कार्यक्रम भन्ने जानेको भए आउने पनि थिइन ।
उनले ट्राफिक प्रहरीलाई कार्य सम्पादन र जिम्मेवारी निर्वाह गर्न कुनै अभाव वा समस्या भए स्थानीय सरकार सँग आएर समस्या राख्नुपर्नेमा मिटिङ , छलफलहरुमा बोलाउँदा पनि नआएको र निर्णय कार्यान्वयनमा पनि सहयोग नगरेको भनि तिब्र आलोचना गरे ।


वडाध्यक्ष्य समेत रहेका ट्राफिक ब्यवस्थापन समितिका अध्यक्ष प्रजापति सापकोटाको सभापतित्वमा आयोजित सो कार्यक्रममा मेयर थापाले मजदुर हितमा हुने गरि स्थानीय कानुनहरु बनाउने काम भैइरहेको जनाउ दिँदै यसको कार्यान्वयनमा साथ दिन मजदुरहरुलाई आग्रह गरे । उनले मजदुर संघ संगठनका नाममा राजनीतिक आग्रह पूर्वाग्रह राख्ने काम नगर्न मजदुरहरुलाई आग्रह गर्दै आआफनो दायित्व र सवारी साधनहरुमाथि लगाइएको करका बिषयमा फैलाइएका भ्रमहरुमा नपरी व्यवसायिक र मजदुर हितका बिषयलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

दमकको ७ नम्बर वडा कार्यालय भवनमा आयोजित कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलले आफू २०५४ सालयता जनप्रतिनिधिका रुपमा रहेर दमकका मजदुर तथा व्यवसायीहरुका हरेक समस्याहरुसँग जुध्ने र समाधानको बाटो पहिल्याउनेमा अनुभव रहेको भन्दै ट्राफिक प्रहरीको व्यवस्थापन अपेक्षाकृत रुपमा गर्न र कुनै समस्या भए समाधानका लागि आफू जुनसुकै तवरबाट पनि सहयोग गर्न तत्पर रहेको उल्लेख गरे ।

बिशुद्ध मजदुरी गरेर आफनो परिवारको गुजारा गर्ने मजदुरहरुका पक्षमा स्थानीय सरकारले नियम कानुनहरु बनाउने स्पष्ट पार्दै राजनीतिक विचारका आधारमा पूर्वाग्रह राखेर कुनैपनि कृयाकलाप स्थानीय सरकारले नगर्ने र मजदुरहरुलाई पनि त्यस ढंगका गतिबिधि नगर्न उनले सचेत गराए । कार्यक्रममा अटो , सिटी रिक्साका मजदुर तथा मजदुर प्रतिनिधिहरुले आफूहरुले भोग्नु परिरहेका ट्राफिक व्यवस्थापन सम्बन्धिका समस्याहरुबारे अवगत गराउँदै समाधानको लागि ध्यानाकर्षण गराएका थिए ।

Facebook Comments Box