गौरीगञ्ज/ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा शुक्रबार सपथ ग्रहण र मुख्यमन्त्रीको कार्यालयमा नेता, कार्यकर्ता तथा सर्वसाधारणसँगको भेटघाट लगत्तै गौरीगञ्जस्थित बैजेश्वरनाथ कोटेश्वर शिवालय मन्दिरमा आएका छन ।
गौरीगञ्ज गाउँपालिका वडा नं.६ मा पर्ने वैजेश्वरनाथ कोटेश्वर शिवालय मन्दिरको दर्शन र पूजा अर्चनापछि मुख्यमन्त्री थापाले मन्दिरकी माता शंकराचार्य हेमानन्द गिरीबाट आशिर्वाद लिएका छन । सो अवसरमा मुख्यमन्त्री थापाले गौरीगञ्जका समग्र बिषयमा आफू जानकार रहेको बताउँदै यहाँको विकास र समृद्विका लागि प्रतिवद्वता जनाए ।
मुख्यमन्त्री थापाले गौरीगंजको पवित्रभुमि वैजेश्वरनाथ धामको समृद्वि र विकासलाई आफूले नबिर्सिने बताए । गौरीगञ्ज गाउँपालिकाको सो क्षेत्र तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीको निर्वाचन क्षेत्र पर्छ । कार्की मुख्यमन्त्रीबाट पदमुक्त भएसँगै कांग्रेसका कोशी प्रदेश समिति सभापति समेत रहेका संसदीय दलका नेता थापा मुख्यमन्त्री बनेका हुन । सपथ ग्रहण लगत्तै मुख्यमन्त्री थापाको गौरीगञ्ज आगमनलाई त्यसभेगका नागरिकहरुले अर्थपुर्णरूपमा हेरेको गाउँपालिका अध्यक्ष फुलवती राजवंशीले बताइन ।
त्यसअघि नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई दिन पालिका अध्यक्ष राजवंशीसहित वडा नं. १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी, वडा नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादव, कार्यपालिका सदस्य अघ्नुप्रसाद राजवंशी, सन्तलाल ताजपुरिया, तरूण दलका दिलिप राजवंशी लगायतको समुह मुख्यमन्त्री कार्यालय पुगेका थिए ।