दमक/ दमक नगरपालिकाले मावा खोलाबाट नदिजन्य बस्तुको उत्खननमा लगाएको ठेक्का बापतको ८४ लाख ९१ हजार रुपैयाँ असुल  गर्न सकेको छैन ।
मावा खोलाको दमक –उर्लाबारी खण्ड उत्खनन ( नदिजन्य बस्तु गिटी, बालुवा संकलन तथा बिक्री) का लागि एनआरआरएन कंक्रिट उद्योग प्रालिले चालू आर्थिक बर्षमा लगाएको ठेक्का वापत पहिलो किस्तामा ४४ लाख रुपैयाँ बुझाएको थियो ।
सो कम्पनीले ठेक्का शर्त अनुसार बुझाउनु पर्ने थप ८४ लाख ९१ हजार ३८६ रुपैयाँको बैंक ग्यारेन्टी नबिल बैंकको दमक शाखाले दिएको थियो । २७ जनवरी सन २०२३ मा बैंकले नगरपालिकालाई सो रकमको सुनिश्चितता गर्दै बैंक ग्यारेन्टी पत्र उपलब्ध गराएको थियो ।
बैंक ग्यारेन्टी दिनु भनेको जमानत बस्नु हो, पत्रमा उल्लेखित रकम बराबरको जिम्मेवारी लिनु हो–नगरपालिका स्रोतले भन्यो । तर नबिल बैंकले ग्यारेन्टेट गरेको रकम तिर्न आनाकानी गरिरहेको छ । बैंकले यस्तो रकम अरु थुप्रै तिर्नुपर्ने छ भन्दै पन्छिन खोज्दा नगरपालिकाको राजश्व असुली र दैनिक आर्थिक प्रशासन सञ्चालनमा कठिनाई भएको बताइएको छ ।
गत जेठ २२ भित्रनै सम्बन्धित कम्पनीले ठेक्का वापतको सो रकम नबुझाए बैंकले दमक नगरपालिकालाई बुझाउनु पर्ने हो । तर नगरपालिकाले सो रकमका लागि पटक पटक ताकेता गरेपनि बैंकले अटेर गरेको जनाइएको छ । बैंकलाई यसअघि दमक नगरपालिकाले बैंक ग्यारेन्टी बराबरको रकम बुझाउन अल्टिमेटमसहितको पत्र बुझाएको थियो । नगरपालिकाले सो रकम तत्काल नबुझाए स्थानीयस्तरमा नबिल बैंकका कुनैपनि कारोबार गर्न नदिने चेतावनी समेत दिइसकेको छ । तर बैंकले स्थानीय सरकारको एक्सनलाई सामान्य रुपमा लिँदै बेवास्ता गरेको आरोप नगरपालिकाको छ ।

Facebook Comments Box