काठमाडौं/ बेहुली पक्षसँग ५० लाख रुपैयाँ रकमको बार्गेनिङ नमिलेपछि बेहुली छोडेर हिंडन लागेका एक जना बेहुला बिहे मण्डपबाटै पक्राउ परेका छन । काठमाडौंको नक्सालबाट प्रहरीले मंगलबार दिउँसो २ बजे पक्राउ परेका बेहुला सुनसरीको दुहवीका भएको बताइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालका अनुसार सुनसरी दुहवी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई हाल काठमाडौं वडा नम्बर १३ ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी अमेरिकाको ग्रीन कार्ड प्राप्त व्यक्ति हुन्। ।
पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको भन्दै बिहे रद्द गर्ने निर्णय गरेको एसपी रिजालले बताए । उक्त विषयमा दुई पक्षबीच विवाद समेत भएको थियो ।
त्यसपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनाबारे बुझ्दा जन्तीलाई राम्ररी स्वागत नगरेको र ५० लाख रूपैयाँ दाइजो नपाएपछि बिहे नै रद्द गर्ने अडान लिएको खुलेको हो । बिहे खर्च बापत केटा पक्षले केटी पक्षबाट पटकपटक गरी २२ लाख रूपैयाँ लिइसकेको खुलेको हो ।
रौनियारलाई प्रहरी वृत्त मालिगाउँमा राखिएको छ । प्रहरीले रौनियारमाथि विवाह सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेको छ ।

Facebook Comments Box