कमल/ झापाको कमल गाउँपालिका वडा न. १ मा आज जग्गादाताहरुको सम्मान एवं स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। सोलमारी स्थित वडा कार्यालयको नवनिर्मित भवन परिसरमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो। वडा कार्यालयका लागि स्थानीय रामकृष्ण भट्टराई ४ कठ्ठा, विक्रम भट्टराई ३ कठ्ठा पाँच धुर, स्व. मानबहादुर, स्व. गंगादेवी, छोरा गणेश भट्टराई ३ कठ्ठा ५ पाँच धुर, बुवा पर्शुराम छोरा कुमार खड्का २ कठ्ठा, धर्मानन्द काफ्ले २ कठ्ठा, भीमकुमारी अधिकारी र खिनबहादुर अधिकारी १/१ कठ्ठा गरि कुल साढे सोर्ह कठ्ठा निशुल्क जग्गा दान गर्नु भएको हो।
जग्गा दाताहरुलाई गाउँपालिका अध्यक्ष हुकुमसिंह राई र वडा अध्यक्ष केदार कटुवालले दोसल्ला र सम्मान पत्र प्रदान गर्नु भएको थियो। दमकको आम्दा अस्पताल, मेची नेत्रालय र नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको प्राविधिक सहयोगमा आयोजना भएको बृहत स्वास्थ्य शिविरमा ४२७ जनाको स्वास्थ्य परिक्षण गरिएको वडाअध्यक्ष केदार केटुवालले जानकारी दिनुभयो । शिविरमा १४ जनाले रक्तदान गर्नुभएको थियो । शिविरमा नाक, कान, घाँटी सम्बन्धि, जेनेरल फिजिसियन सेवा, हाड जोर्नी तथा नशा रोग, मानसिक रोग, आँखा जांच गरिएको थियो भने आवश्यक औषधी समेत निशुल्क वितरण गरिएको थियो । यस्तै, कमल -१ का ११ वटै टोलका युवाहरुलाई फुटबल, जर्सी र भलिवल वितरण गरिएको थियो। वडाका अपांगता भएकालाई आवस्यक सहायता सामाग्री समेत वितरण गरिएको थियो ।