दमक/ संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले कमल ५ स्थित प्रस्तावित आदिवासी रंगशाला तथा स्मृती पार्क बनाउन तय भएको जग्गाको भोगाधिकार संस्थाका नाममा दिलाउने प्रतिबद्धता जनाएका छन । मन्त्री लिम्बुले जग्गाको भोगाधिकारसहित त्यहाँ रंगशाला निर्माणलाई पूर्णता दिन सरकारको तर्फबाट आवश्यक सहयोग गरिने जनाएका हुन ।
रंगशाला निर्माणस्थलमा आज सरोकारवालाहरुसँगको संक्षिप्त छलफलमा मन्त्री लिम्बुले त्यो प्रतिबद्धता जनाएका आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका महासचिव दिपेनवाला राईले जानकारी दिए ।
सो अवसरमा मन्त्री लिम्बुले समाधिका लागि बैकल्पिक उपाय भईसकेकाले सो ठाउँमा सरोकारवालाहरुसँगको सहमति अनुसारनै आदिवासी रंगशाला बनाइने पनि उल्लेख गरेका छन ।
कोही द्धिविधमा नपरौं, हिजो के कारण यो रंगशाला बनेन सबैलाई थाहा छ, त्यतातिर होइन अब सहमति अनुसारनै आदिवासी रंगशाला बन्छ, आवश्यक प्रकृया अघि बढाउनुस सरकारको तर्फबाट सहयोग रहनेछ–मन्त्री लिम्बुले सरोकारवालाहरुसँगको छलफलमा भनेका छन । आगामी आर्थिक बर्ष २०८०÷०८१ को बजेट तथा कार्यक्रममा आदिवासी रंगशालालाई सरकारले समावेश गर्दै एक करोड रुपैयाँ विनियोजन गरिसकेको छ । मन्त्री ज्यूले प्रकृयागत रुपमा यो रंगशालालाई आवश्यक थप बजेट पनि दिलाउने भन्नु भएको छ जग्गाको भोगाधिकार पहिलो प्राथमिकता रहन्छ– महासचिव राईले भने ।
त्यहाँ अनुमानित ३० विगाहा क्षेत्रफलमा ७ सय ४५ जनाको समाधि भत्काएर रंगशाला निर्माणको प्रकृया १३/१४ बर्ष अघि शुरु गरिएको थियो । रंगशालाको नाम परिवर्तन गरेर मदन भण्डारी रंगशाला राखिने र सो नाममा बजेट छुटयाइएपछि यसअघि सरोकारवालाहरुले पूर्व सहमति अनुसार आदिवासी रंगशालानै हुनुपर्ने अडान राख्दा सो योजना विवादस्पद बन्न पुगेको थियो ।