दमक/ झापा क्षेत्र नं ४ का साँसद एलपी साँवाले झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ महाभारामा अहिले सम्म हल हुन नसकेको चतरा गुठीका नाममा रहेको जग्गाको मालपोतको बिषयलाई प्रतिनिधि सभाको बैठकमा उठाएका छन । सोमबार संसद बैठकको शुन्य समयमा बोल्दै नेकपा एमालेका सांसद साँवाले सो क्षेत्रको १४ सय विगाहा क्षेत्रको मालपोत चार दोब्बर बढी तिर्नुपरिरहेको भन्दै समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराएका हुन ।
अन्य जग्गाको प्रतिविगाहा ७ सय रुपैंया मालपोत तिर्दा हुनेमा चतरा गुठीको जग्गाको मालपोत २ हजार ७ सय रुपैंया प्रति विगाहा तिर्नु परेको भन्दै उनले अन्य जग्गाको सो सरह मालपोत वडा कार्यालयमानै बुझाउन सकिने व्यवस्था गर्न माग गरेका हुन । बैठकमा सांसद साँवाले भने ‘झापाको गौरीगञ्ज गाउँपालिका १ महाभाराको १४ सय बिगाहा जग्गाको मालपोत २०१६ सालदेखि चतरा गुठीलाई बुझाउनु पर्ने राजा महेन्द्रले नियम लगाइदिएका थिए अहिले पनि जग्गाधनीले चतरा गुठीलाई मालपोत बुझाउन झन्झट मात्र भएको छैन चार दोब्बर महंगो पनि छ ।’
साँवाले २०३२ सालमा कोरियन सरकारको सहयोगमा निर्माण भएको कन्काई नहरले अधिग्रहण गरेको जग्गाको लगत हालसम्म नकाटिएको र त्यसबेलाका जग्गा धनीले अहिले पनि मालपोत तिरिरहनु परेको भन्दै नहरमा परेको जग्गाको लगत तत्काल काटियोस भन्ने माग उठाए ।