दमक/झापाको दमकमा आज नेपाल महिला संघले महिला अभियान्ता एवम् संघकी संस्थापक अध्यक्ष स्व. मंगलादेवी सिंहको २४ औं स्मृति दिवसका अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
दिवसको अवसर पारेर तीज मिलनसंगै स्व. सिंहको व्यक्तित्व र उनको योगदानका बिषयमा चर्चा परिचर्चा समेत गरियो ।
नेपाल महिला संघ क्षेत्रीय समिति र दमक नगर समितिले संघीय सांसद तथा नेपाली कांग्रेसकी नेतृ महेन्द्र कुमारी लिम्बुको प्रमुख आतिथ्य , राष्टिय सभा सदस्य धना खतिवडाको विशेष आतिथ्यमा कार्यक्रम गरेका हुन् ।
सो कार्यक्रमका वक्ताहरुले नेपालको प्रजातान्त्रिक आन्दोलन र महिला अधिकारको आन्दोलनमा स्वर्गीय सिंहले दिएको योगदान अविस्मरणीय रहेको चर्चा गरे ।
संघकी क्षेत्रीय सभापति रेगिना भटटराईको सभापतित्वमा भएको कार्यक्रममा दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा लोकतान्त्रिक प्यानलका उम्मेद्वारहरुको परिचय समेत गराइएको थियो ।
सो अवसरमा निर्वाचन परिचालन समिति संयोजक तथा दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रकाश प्रसाई र यस पटकको निर्वाचनका अध्यक्षका प्रत्यासी उम्मेद्वार गोकूल श्रेष्ठले लोकतान्त्रिक व्यवसायीहरुको प्यानलले महिला उम्मेद्वारलाई पुरुष उम्मेद्वारसंग समेत प्रतिस्पर्धामा उत्रिन सक्ने नेतृका रुपमा विकास गराएको बताए ।
लोकतान्त्रिक व्यवसायीहरुको प्यानलबाट संघको तृतीय उपाध्यक्षमा रमा लिम्बुलाई सर्वसम्मत उम्मेद्वार बनाएको छ भने खुल्ला महिला सदस्य तर्फ सुस्मा निरौला न्यौपाने र दिलु सुब्बालाई उम्मेदवार बनाएको भन्दै लोकतान्त्रिक प्यानल र महिला नेतृहरुलाई निर्वाचन जिताउन सबै महिलाहरु अग्रसर हुनुपर्नेमा जोड दिए ।
संघकी नगर सभापति मन्दरा पौडेलको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सरस्वती सेडाइँले गरेकी थिइन् ।
को हुन मंगलादेवी ?
नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको जन्म वि.सं. १९८१ मा काठमाडौंमा भएको हो । वि.सं. १९९७ असार महिनामा उहाँको विवाह गणेशमान सिंहसँग भयो ।
वि.सं. १९९७ कात्तिकमा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहानिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय भइन् । २००४ सालमा काठमाडौं म्हैमीमा भूमिगत सङ्गठनको रूपमा नेपाल महिला संघको स्थापना गरी आजन्म अध्यक्ष रहिन् ।
२ छोरा र ३ छोरीकी आमा श्रीमती सिंहको २०५३ साल भदौ १० गते निधन भएको हो ।