दमक/ सरकारले देशैभर केही बर्षयता लगातार बिद्यालय तहको शिक्षा निशुल्क प्रदान गर्ने नीति कार्यक्रमहरुमा उल्लेख गर्दै आएको भएता पनि सामुदायिक बिद्यालयहरुले व्यवस्थापन तथा अन्य शुल्कहरु लिँदै आएका छन । विबिध कठिनाईहरु देखाउँदै धेरैजसो सामुदायिक बिद्यालयहरुले कुनै न कुनै रुपमा लिँदै आएको शुल्क पूर्ण रुपमा हटाउनु सामुदायिक बिद्यालयहरुका लागि निक्कै चुनौतीपूर्ण छ ।
यो समस्याको दिर्घकालिन समाधानका लागि झापाको कमल गाउँपालिकास्थित एक सामुदायिक बिद्यालयले व्यवहारिक रुपमै पूर्ण निशुल्क शिक्षा दिने लक्ष्य लिएको छ ।
यो गाउँपालिकाको वडा नं १ स्थित नरेन्द्र जनता माविले भने बिद्यालयमै शैक्षिक सरोकारवाला , दाता निकायहरुको सहयोगमा महत्वकाङ्क्षी १० वर्षे योजना अन्तर्गत १ करोड पुर्ण निशुल्क कोष स्थापना गर्ने र व्यवहारिक रुपमै सो कोषबाट निशुल्क शिक्षा प्रदान गर्ने लक्ष्य लिएको बिद्यालयका प्रधानाध्यापक बद्री कार्कीले जानकारी दिए ।
कोषमा सहयोग जुटाउने र यसको सञ्चालन गर्ने सम्बन्धमा आवश्यक कार्यविधी निर्माणको चरणमा रहेको प्रधानाध्यापक बद्री कार्कीले जानकारी दिए । अब अभिभावक भेलाबाट कार्यविधी अनुमोदन गरेर कोषको नाममा छुट्टै बैंक खाता खोल्ने र अभियान चलाउने योजना हो – प्रधानाध्यापक कार्कीले भने । एक लाख मानर्थ सदस्य, बीस हजार आजिवन सदस्यसहितको कोष निर्माण गर्ने योजना अन्तर्गत अहिले सम्म १५० पुर्व विद्यार्थीहरुसँग कुराकानी भइरहेको उनले बताए ।
हामीले व्यवस्थापन समिति र सरोकारवालाहरुसँगको समेत छलफलबाट महत्वकांक्षी लाग्ने यो योजना अघि सारेका हौं– प्रधानाध्यापक कार्कीले भने ।
बिद्यालयले यसैबर्षदेखि सो योजना अघि सारेर सार्वजनिक रुपमानै सो कोषमा सहोगका लागि आव्हान गरिसकेको छ । हाम्रो आव्हानलाई धेरैले सकारात्मक रुपमा लिनु भएको छ– प्रधानाध्यापक कार्कील उत्साहित हुँदै भने –आज पनि बिद्यालयको यो कोषमा एक जना भूतपूर्व बिद्यार्थीले एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । कार्कीका अनुसार पछिल्लो समय अमेरिकामा बस्दै आएकी सोही ठाउँका टिकाराज खडकाकी छोरी तथा पूर्व बिद्यार्थी दुर्गा खडकाले नगद एक लाख रुपैयाँ सो कोषका लागि र २५ हजार रुपैयाँ बिद्यालय सञ्चालनमा आवश्यकता अनुसार खर्च गर्ने गरि सहयोग गरेकी छिन । यस अघि सो कोष स्थापनाको घोषणाकै अवसरमा स्थानीय गणेश कार्कीले एक लाख रुपैयाँ सो कोषमा जम्मा हुने गरि प्रदान गरिसकेका छन ।


कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई सिमित स्रोत साधनका बाबजुद सामुदायिक बिद्यालयहरुले प्रदान गर्दै आएको शिक्षालाई साझा दायित्व बोध गरेर जनस्तरबाटै त्यस किसिमको सहयोग हुनु सराहनीय भएको बताउँछन । अध्यक्ष राईले शिक्षा , स्वास्थ्य र कृषि क्षेत्रको बिकास लागि स्थानीय सरकारले उच्च प्राथमिकतामा राखेको र यसमा आम कमलबासीहरुलाई साथ , सहयोग गर्दै सकारात्मक भुमिका निर्वाह गर्न अपिल गरेका छन ।

Facebook Comments Box