दमक/ नेपाली कांग्रेस भित्र चलेको कांग्रेस रुपान्तरण अभियानले दमकमा अगुवा नेता, कार्यकर्ताहरुसँग अन्तरक्रिया गरेको छ । कांग्रेसको पार्टी कार्यालयमा सोमबार आयोजित सो अन्तरक्रियामा सहभागीहरुले पार्टीको केन्द्रीय नेतृत्वमानै विचलन आएकोले शुद्धिकरणका लागि नेतृत्वबाटै त्याग गरिनु पर्नेमा जोड दिए ।
वक्ताहरुले कांग्रेसको तल्लो तहका कार्यकर्ता र समर्थकहरु ईमान्दार भए पनि नेतृत्वको खराबीका कारण पार्टीले त्यसको परिणाम भोग्नु परेको बताएका छन् ।
कांग्रेस रुपान्तरण अभियानको नेतृत्व गर्दै नेता सुवास पोखरेल, उत्तम चौलागाइँ, विमल आचार्य लगायतले काँग्रेसलाई राम्रो बनाउन दवाव दिने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए । आफुहरुको अभियान कसैको व्यक्तिगत अभिष्ट पुरा गर्न भन्दा पनि समग्र पार्टीको हितका लागि भएको नेताहरुको निष्कर्ष थियो । अभियानले कोशी प्रदेशस्तरिय कार्यकर्ताहरुसंग यही बुधबार ईटहरीमा बृहत अन्तक्र्रिया गरिने कार्यक्रममा जानकारी गराइयो ।
अभियानले पार्टीलाई नयाँ ढङ्गबाट अघि बढाउने स्पष्ट नीतिहरूको मस्यौदा निर्माण गरिने नेता पोखरेलले बताए ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु अनिलकृष्ण प्रसाई, राजन ढुंगाना, प्रदेश सभा निर्वाचन क्षेत्र सभापती रवि केसी, दमक नगर सभापति प्रकाश प्रसाइँ, दमक ९ का वडा सभापति युवराज कोइराला , प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, प्रेस युनियनका नेता विष्णु सुब्बा लगायतले पार्टी सुदृढीकरण तथा रुपान्तरणका सवालमा आआफनो विचार व्यक्त गरेका थिए ।

Facebook Comments Box