दमक/ इलामको चुलाचुली गाउँपालिकाका अव्यवस्थित तथा भुमिहीन २४ परिवारलाई बुधबार जग्गाको लालपूर्जा प्रदान गरिएको छ । भूमिसुधार सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले ति परिवारलाई हस्तान्तरण गरिन् । भुमी आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला, गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ लगायतले पनि ति परिवारलाई पूर्जा हस्तान्तरण गरेका थिए ।
लालपूर्जा प्रदान गर्दै मन्त्री श्रेष्ठले आफू मन्त्री भएर लिएको उद्देश्य कार्यान्वयनको सुरुवात भएको बताईन् । मन्त्री श्रेष्ठले देशभरि भूमि आयोगले भूमिहीन तथा सुकुम्बासीहरुको सवालमा काम अघि बढाइरहेको बताउँदै अब लालपूर्जा उपलब्ध गराउने कामलाई तीब्रता दिने बताइन् ।
भूमि आयोगको जिल्लास्थित समितिले अघिल्ला आयोगहरुले गरेका अधुरा कामलाई पूरा गर्दै चुलाचुलीका अव्यवस्थित बसोबासीलाई लालपूर्जा उपलब्ध गराउने काम शुरु भएको हो ।
जिल्ला कार्य समितिले अहिलेसम्म जिल्लाका दश पालिकामध्ये सूर्याेदय नगरपालिका, माई नगरपालिका र रोङ गाउँपालिकामा भूमिहीनहरुले दिएको आवेदनअनुसार जग्गाको नापजाँच गरेर काम अघि बढाइएको जनाएको छ ।
यी तीन पालिकाबाट मात्र अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क आएको र दलित सुकुम्बासी र भूमिहीन सुकुम्बासीको भने तथ्याङ्क नआएको बताइएको छ ।

Facebook Comments Box