दमक/ कमलका तीन ठाउँमा विशेषज्ञ टोलीद्धारा महिला स्वास्थ्य जाँच शिविर झापाको कमल गाउँपालिकाका महिलाहरुलाई लक्षित गरी निशुल्क घुम्ती महिला स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । कमल गाउँपालिका, गाउँ कार्यपालिकाको स्वास्थ्य शाखाले यही जेठ महिनाको २५, २६ र ३२ गते अलग अलग तीन ठाउँमा महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाइएको छ । शिविरमा महिलाहरुको आङ खस्ने समस्या, स्तन क्यान्सर , पाठेघरको मुखको क्यान्सर सम्बन्धि स्वास्थ्य परामर्श तथा नमुना संकलन गरिने स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक दिपक प्र. दाहालले जानकारी दिए ।
विशेषज्ञ चिकित्सक सहितको टोलीले उल्लेखित विशेष परिक्षण गर्नुका साथै महिलाहरुका अन्य स्वास्थ्य समस्याहरुको उपचार र निदानका लागि आवश्यक परामर्श सेवा दिने जनाइएको छ । आम्दा अस्पताल, दमक र नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समेत प्राविधिक सहयोगमा पहिलो दिन जेठ २५ गते वडा नं ६ स्थित लखनपुर स्वास्थ्य चौकीमा विहान १० बजेदेखि , दोश्रो दिन वडा नं ३ स्थित केराधापमा रहेको कञ्चनजंघा आधारभुत बिद्यालयमा र जेठ ३२ गते १ नंम्बर वडा कार्यालय भवनमा शिविर सञ्चालन गरिने जनाइएको छ । कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले पालिकाका सबै महिलाहरुलाई तोकिएका आआफूलाई पायक पर्ने स्थानमा सञ्चालन हुने शिविरमा गई स्वास्थ्य जाँच गराउन अनुरोध गरेका छन ।