दमक/  चर्को गर्मी बढेसँगै बन्द गरिएका दमकका बिद्यालयहरु २४ जेठदेखि आवश्यक सावधानीसहित सञ्चालनमा ल्याउन स्थानीय सरकारले निर्देशन गरेको छ । नगरपालिकास्थित सबै सामुदायिक तथा संस्थागत बिद्यालयहरुका लागि विभिन्न ६ वटा मापदण्डहरु राखेर बिद्यालयको नियमित पठनपाठन सूचारु गराउन नगरपालिकाले सर्कुलर जारी गरेको हो ।
मंगबार नगरपालिकाको शिक्षा समितिका संयोजक कुबेर प्रसाद भट्टराईको अध्यक्षतामा नगर प्रमुख, उपप्रमुख समेतको उपस्थितीमा शिक्षकहरुका पेशागत संघ संगठन, निजी बिद्यालयहरुका छाता संगठनका पदाधिकारी लगायत सरोकारवालाहरुसहित बसेको बैठकले बिद्यालयमा प्राथमिक उपचार, शुद्ध पिउने पानी र बिद्युतीय पंखा (फेन)को सबै कक्षा कोठामा व्यवस्थापन गरिनुपर्ने लगायतका शर्तहरुसहित बिद्यालयको पठनपाठन शुरु गर्ने निर्णय भएको जनाइएको छ ।
नगरपालिकाका शिक्षा शाखा अधिकृत प्रविण खडकाद्धारा हस्ताक्षरित सो सर्कुलरमा बिद्यार्थीहरुका लागि यसअघि सञ्चालन गरिँदै आएको सबै खाले एसेम्बली पनि नगर्न नगराउन भनिएको छ । दमकमा गएको १८ जेठदेखि गर्मी बढदा प्रतिकुल मौसमको कारण देखाउँदै सबै बिद्यालयको पठनपठन २३ गते सम्मका लागि स्थगित गराइएको थियो । यद्यपी कतिपय संस्थागत बिद्यालय तथा मन्टेश्वरी सञ्चालकहरुले स्थानीय सरकारको निर्देशनको अवज्ञा गरेका थिए । दमकमा निजी बिद्यालयहरु र स्थानीय सरकारबीच कोरोना संक्रमणको समयदेखिनै सम्बन्ध चिसिँदो छ । स्थानीय सरकार कडाईका साथ नउत्रिँदा यहाँका कतिपय संस्थागत बिद्यालयहरुले बिद्यालय सञ्चालनका लागि राज्यद्धारा निर्धारित न्यूनतम मापदण्डको पालना गर्न अटेर गर्दै आएका छन ।
यहाँका निजी बिद्यालयहरुले पाठ्यक्रम बिकास केन्द्रबाट स्वीकृती नलिइएका र कतिपय पब्लिकेशनका तथ्य, तथ्याङक नमिल्न पाठयपुस्तकहरु समेत बिद्यार्थी र अभिभावकलाई अनावश्यक बोझ पर्ने गरि किनाएका छन ।

 

Facebook Comments Box