दमक/ सोमबार अर्थात ५ जुनमा विश्व वातावरण दिवसको अवसरमा झापाको दमक र कमलमा बृहत वृक्षारोपण तथा सरसफाई र वातावरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएका छन ।

बिद्यार्थी, सुरक्षा निकायका तीन वटै अंगहरु नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी, जनप्रतिनिधि कमल गाउँपालिका वडा नम्बर ५ स्थित गुह्येश्वरी सामाजिक सस्थाको अगुवाईमा जिल्ला वन कार्यालय झापाले उपलब्ध गराएका १ हजार बिरुवा रोपिएको छ । हिमाली मार्ग हुँदै जगनाथी होलीसम्म १ हजार वटा कल्की जातका विरुवा रोपिएको हो ।

नेपाली सेना २१ न्ां बाहिनी अड्डा कमल ३ का बाहिनीपति धनबहादुर थापा, सशस्त्र प्रहरी बल शिक्षालयका सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुवेदी, सशस्त्र प्रहरी बल ३८ नम्बर गणका गणपती महेशराज बिष्ट, इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार लामा, कमल ५ का वडा अध्यक्ष लालबहादुर बिष्टलगायतको उपस्थित स्काउटमा आवद्ध बिद्यार्थीहरु, महिला समूह, बाल क्लवहरु लगायतले वातावरण संरक्षणका लागि बोट विरुवा रोप्न र संरक्षण गरेर हुर्काउन आव्हान गर्दै वृक्षारोपणमा सहभागिता जनाएका थिए ।

त्यसैगरी दमकको हंसेदुम्से सामुदायिक वनको हाता भित्र दमक नगरपालिकासहित यहाँ क्रियाशील सामाजिक संघ संस्थाहरुको सहभागितामा वृहत वृक्षारोपण गरिएको संघ संस्था समन्वयको जिम्मेवारी पाएको नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीले जानकारी दिए ।

हंसेदुम्से सामुदायिक वन क्षेत्रमा पर्ने दमक रवि फाल्गुनन्दमार्ग सडक किनारामा बेगम बेली फूलका बिरुवा रोपिएको जनाइएको छ । १२ सय भन्दा बढी संख्यामा फूलको बिरुवा रोपिएको जनाइएको छ । बेगम बेली फूल लामो समयसम्म फुलिरहने किसिमको फुल भएको बताइएको छ ।

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईं, नगरपालिकाका कर्मचारीहरु, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, दमकका विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

Facebook Comments Box