दमक नगरपालिकाको ७ नम्बर वडाका अधिकांश भित्रि सडकहरुको स्तरोन्नती गरिएको छ । वडाध्यक्ष भिम पौडेलका अनुसार वडामा रहेको किओच दमक बाल अस्पताल परिसर आसपासको सडक स्तरोन्नती गर्दै अस्पताल आवागनका लागि सहज बनाइएको छ । अस्पताल पुग्ने सडकका खाल्डाखुल्डी पुरेर उच्चस्तरको ग्राभेल लगाइएको छ ।

त्यसैगरी मानवधर्म टोल, माँ पाथीभरा टोल, संरक्षण टोल, सयपत्री टोल लगायतका टोलका भित्री सडकहरुको स्तरोन्नती गरिएको छ ।
वडाको बजेटले मात्रै वडाको पूर्वाधार बिकास सम्भव नहुने भएकाले पालिका र अन्य निकाय सँगको समेत समन्वयमा वडाको बिकासलाई अघि बढाइएको वडाध्यक्ष भिम पौडेलले बताए । वडाको प्रमुख समस्याका रुपमा रहेको रतुवा खोलाको कटान रोकथाम र बाढी पस्ने खतरालाई न्यूनिकरण गर्न एशियाली बिकास बैंकको सहयोगमा पार्कसहित रतुवा बाँध निर्माणलाई अघि बढाउने प्रकृया अघि बढाइएको पौडेलको भनाई छ ।




कोशी प्रदेशकै नमुना वडा बन्दै
दमक नगरपालिकाका १० वटा वडा मध्ये वडा नं ७ अलग किसिमको पहिचान र महत्व बोकेको वडा हो । स्थानीय तह पुनसंरचना हुनु अघि दमकमा १९ वडा थिए । ति वडाहरु मध्येको १२ नम्बर वडा अहिले वडा नं ७ का रुपमा रहेको छ । २०७३ सालमा भएको स्थानीय तह पुनसंरचनापछि साविकको १२ नम्बर वडा भौगोलिक सिमा परिवर्तन नभई वडा नं ७ को रुपमा कायम हुन पुगेको हो ।
स्थानीय तहको पुनसंरचनापछि यो वडाको बिकासले काँचुली फेरिरहेको छ । वडाको पूर्व , दक्षिण तर्फ पूर्वपश्चिम राजमार्ग उत्तर तर्फ रतुवा नदी र पश्चिम तर्फ बजार क्षेत्र रहेको छ ।
अधिकांश निम्न वर्गीय परिवारको बसोबास रहेको वडाको भौतिक बिकासमा जनसहभागिता आफैंमा चुनौतीपूर्ण हुँदा हुँदै पनि वडाध्यक्ष पौडेलको पहल र नेतृत्वमा वडाका भित्रि सडकहरु धमाधम कालोपत्रे भइरहेका छन ।
साना र बस्तीका भित्रि सडकहरुमा लकिङ टायल ओछयाएर टायलको मुनि ढल निर्माण गरिनाले सडक र यहाँको भौगोलिक दृश्य सुन्दर देखिएको छ ।
फरक विशेषता र पहिचान बोकेको यो वडालाई कोशी प्रदेशमै सुविधा सम्पन्न भौतिक पूर्वाधारयुक्त वडाको रुपमा लिन सकिन्छ । यो वडा भित्रै प्रदेशकै ठुलो र व्यवस्थित कृषि तथा पशुपंक्षी व्यापारिक थलो दमक पशुहाट वडाको मात्रै यस क्षेत्रकै पहिचान झल्काउने संरचना हो । राजमार्गसँगै जोडिएको यहाँको पशुहाट क्षेत्र साप्ताहिक बजारको दिन बाहेक अन्य दिनमा नियमित खेलकुद तथा मनोरञ्जनका कार्यक्रमहरु सञ्चालनका लागि एकदमै उपयुक्त स्थल बनेको छ ।
दमक उद्योग वाणिज्य संघ, किराँत राई, याक्खा र लिम्बुहरुको साझा संस्थाका रुपमा रहेको साविक किराँत भवन तथा हालको किरायालि सेवा संघको चार तले पक्की भवन, नेपाल रेडक्रस सोसाइटी जस्तो पवित्र सामाजिक उद्धेश्य राखेर स्थापित रेडक्रसको सुविधा सम्पन्न भवन र प्रादेशिकस्तरको दमक किओच वाल अस्पताल समेत यो वडाले पाएको छ । त्यति मात्रै नभएर यो वडाको सयपत्री टोलमा राधा माधव समितिको आकर्षक कलाकृतिसहितको मन्दिर , नेपाल मानव धर्म , क्रिश्चीयनहरुको चर्चदेखि उत्तर तर्फको सीमामा एकीकृत नमुना बस्ती र निर्माणाधिन बहुउद्धेश्यीय कभर्ड हल यहाँका परिचित सम्पदा हुन ।
वडाले सार्वजनिक जग्गाको संरक्षणका लागि गरेको काम सिंगो दमक र अन्य ठाउँका लागि समेत उदाहरणीय छ ।
पशुहाट क्षेत्रसँगै रोज गार्डेन यहाँको आकर्षक मनोरम दृश्य हो । यो गार्डेनसँगै मुलुककै राजनीतिक व्यवस्थाको इतिहास झल्किने पञ्चायत स्तम्भको पनि संरक्षण र संवद्र्धनमा उत्तिकै सहयोग पुगेको छ ।
वडाको सौन्दर्यकरणमा समेत टेवा पुरयाउने उद्धेश्य राखेर करिब ५ कठठा भुगोलमा फैलिएको रोज गार्डेन पञ्चायत संरक्षण स्तम्भ र किओच बाल अस्पतालको दृश्यले समग्र दमकको सौन्दर्यतालाई पनि झल्काएको छ ।
सुकुम्बासी समस्या समाधानको नमुना प्रयत्न
खस आर्य, राई, लिम्बु, तामाङ, मैथली, दलित, मुसहर, मुस्लिम लगायत विभिन्न जातजातीको मिश्रित बसोबास रहेको यो वडा भुमिहीन तथा सुकुम्बासीहरु र अव्यवस्थित बसोबासीको बाक्लो बसोबास रहेको वडाका रुपमा समेत चिनिन्छ ।
२०५४ सालयता लगातार यो वडाको अभिभावकका रुपमा भीमप्रसाद पौडेललाई यहाँका वडाबासीहरुले वडाध्यक्ष चुन्दै आएका छन ।
झण्डै ३० बर्षदेखि यो वडाको नेतृत्व सम्हालिरहनु भएका वडाध्यक्ष पौडेलका अनुसार २०५३ सालताका सो वडामा अत्यन्तै न्यून संख्यामा भुमिहिन सुकुम्बासीहरुको संख्या रहेको भएपनि माओवादीको सशस्त्र द्धन्द्ध र त्यसपछिका समयमा ठुलो संख्यामा सुकुम्बासीहरुको बसोबास रहेको देखिन्छ ।
वास्तविक सुकुम्बासीहरुलाई बसोबासको व्यवस्था मिलाउन पौडेलकै नेतृत्वमा सिंगो दमक नगरले प्रयत्न भने जारी राखेको छ ।
यहाँको राजमार्गसँगै जोडिएको बसपार्क र आसपास क्षेत्र ओगटेर बसेका भुमीहिन तथा अव्यवस्थित बसोबासीहरुका लागि नगरपालिकाले व्यवस्थापन गरिसकेको छ । अन्य ठाउँमा रहेका जग्गाको समस्या भएका वडाबासीहरुले पनि धनीपूर्जा पाउने प्रकृया अघि बढिसकेको छ । जग्गाको धनीपूर्जा प्राप्तीका लागि यो वडामा ५५६ जनाले वडा मार्फत भुमी आयोगमा निवेदन पेश गरेका वडाध्यक्ष पौडेल बताउनु हुन्छ ।
ति मध्ये ३१५ परिवारले जग्गाको पूर्जाका लागि निस्सा पाइसकेका छन । सुकुम्बासी तथा भुमिहिन र अव्यवस्थित बसोबासीको समस्या समाधानमा आफू सदैव प्रयत्नशील रहेको वडाध्यक्ष पौडेलको भनाई छ ।


