
दमक/ झापाका सहकारीकर्मीहरुका लागि सहकारीमा स्वनियम, सुशासन र वित्तीय संकट व्यवस्थापन सम्बन्धिको एक दिने गोष्ठी सम्पन्न भएको छ ।
कमल गाउँपालिका वडा नं ५ मा जिल्ला सहकारी संघ झापा र जिल्ला बचत तथा ऋण सहकारी संघ नेफस्कनको संयुक्त आयोजनामा भएको गोष्ठीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक सहयोग रहेको थियो ।
सो अवसरमा सहकारीहरुको बिद्यमान अवस्था, राज्य र सहकारी अभियान्ताहरुको भुमिका लगायतका बिषयमा चर्चा परिचर्चा भएको थियो । झापा जिल्लाका सहकारी अभियान्ता तथा सहकारीकर्मीहरुको बाक्लो उपस्थितीका बीच भएको सो कार्यक्रममा नेफस्कुनका केन्द्रिय अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्य रहेको थियो ।
गोष्ठीमा अध्यक्ष पौडेल, सहकारी विभागका उपरजिष्टार टोलाराज उपाध्याय र प्रदेश रजिष्टार हरिबहादुर खत्रीले कार्यपत्र प्रस्तुत गर्दै सहकारी अभियानको विश्व परिवेश, वर्तमान अवस्था, सहकारीहरुमा देखिएको सुशासन , राज्यले लिनुपर्ने नीति लगायतका बिषयमा जानकारी गराएका थिए । रजिष्टार खत्रीले कोशी प्रदेशमा सहकारी सम्बन्धिका तथ्याकंहरु प्रस्तुत गरेका थिए ।
बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा सहकारी अभियान्ताहरु गोमादेवी नेपाल, घनश्याम अधिकारी लगायतको आतिथ्य रहेको थियो ।