दमक/ झापाको दमक र गौरीगञ्जका दुई जनासहित चार जनालाई सुनसरी र ईलामका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापा गौरिगंजकी ३२ बर्षीया बबिता राजवंशी र दमक नगरपालिका–२ का ४१ बर्षीय राजकुमार बिश्वकर्मा, धरान उप–महानगरपालिका–१७ का ३४ बर्षीय मनिष पाण्डे र धरान–११ का ३५ बर्षीय सुर्य कुमार राई रहेका छन ।
राजवंशी र विश्वकर्मालाई प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले ईलामको चुलाचुली गाउँपालिका–२ बाट ०.४६ मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो । मे.१.ह.३२२० नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटोमा सवार उनीहरुको साथबाट सो परिमाणको लागुऔषध बरामद भएको हो । उनीहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
पाण्डे र राईलाई बराहक्षेत्र नगरपालिका–८ बाट ११ ग्राम ३७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
प्रदेश १–०२–०४२ प ८४०३ नम्बरको स्कुटरमा शुक्रवारेको भित्री सडकमा दक्षिणबाट उत्तर तर्फ आँउदै गरेका उनीहरुलाई चेकजाँच गर्नेक्रममा उनीहरुको साथबाट उक्त परिणामको लागुऔषध बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।