दमक / दमक ५ स्थित गोर्खाली टोलमा विष्ट फेक्ट्री व्यामशालाले सोमबारदेखि आफनै फुट्सल सञ्चालनमा ल्याएको छ ।
गत फागुनमा दोश्रो बार्षिकोत्सव मनाएको सो फेक्ट्रीले युवाहरुको आवश्यकता र मागलाई ध्यानमा राखेर फुटसल सञ्चालनमा ल्याएको सञ्चालक विनोद भट्टराईले जानकारी दिए ।
सो फुट्सलको औपचारिक कार्यक्रमका बीच दमक नगर उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले उदघाटन गर्दै खेलकुदका माध्यमबाट युवाहरुको शारिरीक तथा मानसिक बिकासमा समेत मद्धत पुग्ने बताइन । उपप्रमुख भट्टराईले युवाहरुलाई कुलतबाट जोगाउँदै समृद्ध समाज निर्माणको बाटोमा साझेदारी गर्न यस किसिमका खेलकुद कार्यक्रमहरुले प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिन ।
सो अवसरमा दमक ५ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङ, इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामा, स्थानीय गोर्खाली टोल बिकास संस्थाका प्रतिनिधिहरु लगायतले पनि शुभकामना दिएका थिए । सो फुटसलमा हरेक दिन बिहान बेलुका फुटसल खेलको अभ्यास गराइने सञ्चालक भट्टराईले जानकारी दिए ।
यसअघि बार्षिकोत्सवको अवसर पारेर सो फेक्ट्रीले विभिन्न क्षेत्रका चार जना अग्रजलाई आजीवन सदस्यता वितरण गरेको थियो भने शारीरिक अभ्यासका लागि उपयोगी सउना, स्टिम लगायतका सेवा समेत विस्तार गरेको थियो । व्यामशालामा शारीरिक अभ्यासका लागि ती प्रविधि जडान गरिएका हुन ।
दमकका युवाहरु विनोद भट्टराई, विपीन सुवेदी, सुमन गौतम र विशाल पौडेलले वर्षदिन अघि सो व्यामशाला सञ्चालनमा ल्याएका हुन् । दमकका अन्य व्यामशाला भन्दा फरक किसिमको विशेषता रहेको विष्ट फेक्ट्री व्यामशालाले वडीविल्डर्सको प्रतियोगिता समेत आयोजना गर्ने लक्ष्य राखेको जनाइएको छ ।
