गणतन्त्र दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना, रेशम चौधरी जेलमुक्त

Author Nishkarsha News
२०८० जेष्ठ १५, सोमबार ०९:१०

१६ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश दिनुभएको छ । राष्ट्रपति पौडेलले गणतन्त्रले उद्देश्य अनुसारको राजनीतिक आचरण र चरित्र नभए जनताको बलिदानको अपमान हुने बताउनु भएको छ । गणतन्त्र दिवसको अवसरमा सोमबार सन्देश दिंदै पौडेलले शासन प्रणाली हावा, पानी माटो सुहाउँदो होइन जनता सुहाउँदो हुनुपर्ने भन्दै गणतन्त्रले जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्ने बताउनु भएको हो ।

जनताको हातमा अधिकार पुगेको भन्दै उहाँले देश ग्रामीण विकासको बाटोमा अग्रसर भएको जिकीर पनि गर्नुभएको छ । राष्ट्रपति पौडेलले शासन प्रणालीको पारदर्शिता, जनताप्रति जवाफदेही राज्यप्रणाली, सुशासन, जनसहभागितासहितको विकास प्रक्रिया, सामाजिक न्याय, अवसरको न्यायोचित वितरण, रोजगारीमा तीव्र वृद्धि र सेवा प्रवाहमा चुस्तता अनिवार्य आवश्यकता भएको पनि सन्देशमा उल्लेख गर्नुभएको छ ।

यस्तै, प्रधानमन्त्री दाहालले पनि गणतन्त्र दिवसको सन्देश दिंदै लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताउनु भएको छ । राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गर्ने भन्दै दाहालले बर्तमान सरकार त्यही बाटोमा अग्रसर रहेको दाबी गर्नुभएको छ ।  संघीय गणतन्त्रलाई जनताको जीवन व्यवहारसँगै जोडेर स्थापित गर्दै लैजानु पर्ने आवश्यकतामा जोड दिंदै उहाँले नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण नै यो व्यवस्थाको अभिष्ट भएको जिकीर गर्नुभएको छ ।

रेशम चौधरी जेलमुक्त

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलमुक्त भएका छन् । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरी सोमबार बिहान जेलमुक्त भएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि चौधरी जेलबाट मुक्त भएका हुन् ।

सन् २०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । उक्त घटनाको योजनाकार र मुख्य अभियुक्तका रूपमा चौधरीलाई अभियोजन गरिएको थियो ।

राष्ट्रपतिबाट गणतन्त्र दिवसको अवसरमा आम माफी पाएका उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति
पार्टीकी अध्यक्ष तथा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, नेतृ एलिजा गौतमसहित पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरु डिल्लीबजार कारागार पुगेका थिए ।

उनीहरुले रेशमलाई फूलमालाले भव्य स्वागत गरेका छन् । उनको स्वागतका लागि सोमबार बिहानैदेखि डिल्लीबजार कारागारमा नेता, कार्यकर्ताको भीड लागेको थियो । तर, सामाजिक सञ्जालमा भने सरकारको यस निर्णयको चौतर्फी बिरोध भएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्