दमक/ कमल ५ स्थित नयाँ बस्तीमा २२ बर्ष अघिदेखि बसोबास गर्दै आएका बाढी विस्थापित परिवारले अझै जग्गाको स्वामित्व पाउन सकेका छैनन ।
सरकारले अव्यवस्थित बसोबासी तथा भुमिहिन सुकुम्बासीहरुलाई जग्गाको स्वामित्व दिलाइदिने भन्दै झापामा आयोग गठन गरेर काम गरिरहेको भएपनि बाढी विस्थापित ति परिवारको बसोबास रहेको क्षेत्र सशस्त्र प्रहरीको स्वामित्वमा रहेको जग्गा भएकाले आयोगले नापजाँचको प्रकृया बघि बढाउन कठिनाई भइरहेको बताइएको छ ।

यद्यपी स्थानीय सरकारका प्रमुख कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले सशस्त्र प्रहरीका उच्च अधिकारीहरुसँग सो बिषयमा हालसालै भएको कुराकानी प्रगति उन्मुख भएको भन्दै अल्पकालिन नभएर प्रकृया सम्वत दिर्घकालिन समाधान खोज्ने प्रयत्न भइरहेको बताएका छन । राष्ट्रिय भुमी आयोगले कमल गाउँपालिकामा श्रेस्ता कायम नभएको जग्गाको तथ्याङक यकिनका लागि नापजाँचको प्रकृया चलिरहेको गाउँपालिका अध्यक्ष राईले बताए । त्यस्तो प्रकृया अहिले वडा नं १ मा पुरा भएको र क्रमश अन्य वडाहरुमा पनि यसलाई निरन्तरता दिइने उनले बताए ।
स्थानीय सरकारले समस्या समाधानका लागि राष्ट्रिय भुमी आयोग , सशस्त्र प्रहरी लगायत अधिकार प्राप्त संघीय सरकारको उच्च तहमा नीतिगत समाधानको पहल गरिरहँदा सो क्षेत्रमा भुमाफियाको गिरोहले भने सेटिङमा जग्गाको धनीपूर्जा दिलाइदिने भन्दै रकम उठाउने प्रयास गरिरहेको खुलेको छ । युवा पुस्तालाई बाबुबाजेको पालादेखि समाधान नभएको तिमीहरुको समस्या माथि पुरयाएर समाधान गर्छौं, धनीपूर्जा हात लगाइदिन्छौं भन्दै त्यस्तो समुहले गोप्यरुपमा काम गरिदिने र त्यसका लागि गोप्य रुपमै भन्दै पैसा माग्ने गरेको नयाँ बस्तीका अव्यवस्थित बसोबासी प्रतिनिधिहरुले बताएका छन । हामीले त्यति राम्ररी चिनेका छैनौं तर गाउँमा कुरा आयो धनीपूर्जाको समस्या भएका साथीहरु के कसो रहेछ भनेर बुझन आउनु भएको छ– तत्कालिन लखनपुर गाविसका पुर्व अध्यक्ष भोजकुमार घिमिरेले भने ।
उनले लखनपुरका कतिपय गाउँमा त्यस्तो समुह आएपनि त्यो समुहको कुनै आधिकारिकता नभएकाले धेरै बताउन नसकिने पनि बताए । त्यहाँका बाढी पीडितहरुलाई युवा पुस्तालाई बाबुबाजेको पालादेखि समाधान नभएको तिमीहरुको समस्या माथि पुर्याँएर समाधान गर्छौं, धनीपूर्जा हात लगाइदिन्छौं भन्दै त्यस्तो समूहले माथिल्लो निकायबाट गोप्यरुपमा काम गराउन खर्च हुने भएकाले पैसा दिनुपर्ने बताउँदै एउटा समुहले पैसा उठाउन खोजेको गुनासो पालिकामा पुगेको छ । पालिकामा त्यस्तो गुनासो पुगेपछि सार्वजनिक सूचनानै प्रकाशन गरेर त्यस किसिमको ठगी धन्दा चलाउने गिरोहबाट सजग रहन गाउँपालिकाबासीलाई आग्रह गरेको छ । कसैले काम गरिदिने बहानामा ठगी गर्न खोजेमा पालिका कार्यालय वा सम्बन्धित निकायमा उजुरी समेत गर्न भनिएको छ ।
कमल ५ को नयाँ बस्ती मात्र नभएर कमल ५ वडाका ८८८ घरपरिवार अव्यवस्थित तथा भुमिहीन अवस्थामा छन ।

 

Facebook Comments Box