दमक/ हिन्दु धर्मावलम्बीहरुले महत्वका साथ मनाउने श्रीकृष्ण जन्माष्टमी पर्व भोली शुक्रबार परेको छ । नेपाली पात्रो अनुसार भाद्र शुक्लअष्टमीका दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

यस अवसरमा संघीय तथा प्रादेशिक सरकारले सार्वजनिक विदा नदिएपनि झापाका कतिपय स्थानीय तहहरुले सार्वजनिक विदा दिएका छन् । बिहिबार झापाको गौरीगञ्ज, बुद्धशान्ति, गौरादह लगायतका स्थानीय तहले सार्वजनिक सूचनामार्फत कृष्णाष्टमी पर्व मनाउन सम्बनिधत गाउँ तथा नगरपालिकामा स्थानीय तह मातहतका शिक्षण संस्था तथा सरकारी कार्यालयहरुमा सार्वजनिक विदा दिइएको उल्लेख गरेका छन् ।
यसै अवसरमा झापाको दमकमा भने विभिन्न मन्दिर तथा धार्मिक संघ संस्थाहरुको सहभागितामा रथयात्रा निकाल्ने तयारी भएको छ । दमकमा विगत ४ बर्षदेखि संयुक्त रुपमा बृहत श्रीकृष्ण रथयात्रा निकालिने गरेको छ । रथयात्रा भने अष्टमी पर्वको भोली पल्ट अर्थात शनिबार दिउँसो १ बजे निकालिने आयोजक समितिका सचिव प्रेम भट्टराईले बताए । दमकमा मानबहादुर बुढाथोकीको अध्यक्षतामा श्रीकृष्ण रथयात्रा समिति रहेको छ । समितिले आज पत्रकार सम्मेलन गरी राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथले दमकको मुख्य भाग परिक्रमा गर्ने जनाइएको छ । सो क्रममा रथयात्रामा पुष्पवृष्टि समेत गरिनेछ । भने यात्राका क्रममा ठाउँ ठाउँमा खानेपानी, स्वास्थ्य शिविर मार्फत औषधी , प्रसादी आदि पनि वितरण गरिने पत्रकार सम्मेलनमा जनाइएको छ ।