दमक/ इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया गरेका छन । आइतबार दमक र यस क्षेत्रको शान्तिसुरक्षा, अपराधका प्रकृति र तिनको नियन्त्रणमा समुदायस्तरबाट आवश्यक सहयोगका बिषयमा उनले पत्रकारहरुसँग अन्तरंग गरेका हुन ।
सो अवसरमा पत्रकारहरुले प्रहरी प्रमुख लामालाइ सूचनाको हकको सम्मान गर्न र पत्रकारहरुमाथि प्रहरीबाट भइरहेका दुव्र्यवहारका घटनामा गम्भिर हुन ध्यानाकर्षण गराए । पत्रकारहरुले इलाका प्रहरी कार्यालय दमकमा आउने सेवाग्राही सर्वसाधारण नागरिकले चुस्त दुरुस्त र पारदर्शी रुपमा सेवा पाउनु पर्ने धारणा राखे । उनीहरुले प्रहरी कार्यलय र कतिपय घटनाका संदिग्ध पात्रहरुबीच चलखेल गर्ने अघोषित बिचौलिया समुहको मारमा सर्वसाधारण परिरहेको तर्फ विशेष ध्यान दिन प्रहरी प्रमुख लामालाई सुझाव दिए ।
तीन महिना अघि दमक प्रहरीको कमाण्ड सम्हाल्न आएका उनले दमकलाई अपराध तथा भयरहित, शान्त नगर बनाउन आफू प्रयत्नशील रहेको जानकारी दिए ।
दमकमा लागूऔषधको प्रयोगकर्ता, कारोबारी र तेस्रो लिंगीहरुबाट रातको समयमा अश्लिल कृयाकलापहरु भइरहेको मुख्य समस्याका रुपमा देखिएको प्रहरी अधिकारीहरुले बताएका थिए । लागूऔषध समाजका लागि साझा चुनौती भएकाले पनि यसको नियन्त्रण घरपरिवार,समाज जिम्मेवार रहेको उनले प्रष्टयाए ।
दमकमा खुलेका कतिपय कन्सल्टेन्सी तथा रोजगारा परामर्श केन्द्रहरुबाट अबैधानिक रुपले म्यानपावरको धन्दा चलाएर भइरहेको ठगी, वनजंगल तस्करी, क्लिनिक तथा स्वास्थ्य परामर्शका नाममा भइरहेको ठगी, अव्यवस्थित पार्किङ आदीको समस्याका बारेमा पनि पत्रकारहरु प्रहरी प्रमुखबीच यस्ता कृयाकलाप रोक्न अपनाउन सकिने उपायहरुका बारेमा अन्तरक्रियात्मक छलफल भएको थियो ।