दमक/  राष्ट्रिय अन्तराष्ट्रिय ध्यान खिचेको नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा राजनीतिक दलका उच्च नेतृत्वको संलग्नताको बिषयले यतिबेला सडकदेखि सदन सम्म चर्चा पाएको छ । स्थानीय भनिएकादेखि राष्ट्रिय भनिएका मिडियाहरुले यो बिषयलाई उच्च प्राथमिकता दिइरहेका छन ।
ठगी गरेको प्रकरणमा जोडिएपछि गत वैशाख २० गतेदेखि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी गायब छन्। । गत मंसिरको चुनावमा सत्ता गठबन्धनलाई भारी मतले पराजित टोपबहादुर तत्कालीन नेकपा विघटन हुँदा माओवादी समूह छाडेर एमालेमा बसेका थिए । चितवनमा भएको एमालेको दसौँ महाधिवेशनमा राम्रो मतसहित सचिव पदमा विजयी भएका उनी अध्यक्ष केपी शर्मा ओलीनिकट नेता मानिन्थे ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि उनी कानुनलाई सहयोग गर्ने भन्दै सन्धिखर्कबाट काठमाडौंका लागि हिँडेका थिए । तर उनी बुटवल आसपास झरेपछि मोबाइल फोन पनि बन्द गरेर बेपत्ता छन्। ।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा रायमाझी गायब भएपछि सत्तारुढ दलहरु एमाले अध्यक्ष ओलीमाथि खन्निदै थिए तर आज आइतबारदेखि कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी सांसद आरजु राणा र पूर्व मन्त्री बालकृष्ण खाँडकी पत्नी मञ्जु खाँडको समेत नाम यो प्रकरणमा जोडिएपछि निक्कै गर्मागर्मी बहस चर्किएको छ । बाबु पाँच दिनदेखि हराइरहेका बेला उनका छोरा सन्दीप जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। । उनको नाममा चार वर्षअघि नै डेढ करोडको चेक भेटिएको चर्चा छ ।
यसअघि नै पक्राउ परिसकेका केशव दुलाल र टंक गुरुङसहितले पूर्वगृहमन्त्री बादल पत्नीसमेत रहेकी पूर्वसञ्चारमन्त्री नैनकला थापा र अख्तियार प्रमुख रहेका तत्कालीन गृहसचिव प्रेम राईको नाम पनि बयानका क्रममा जोडिसकेका छन । केही दिनयता सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको एउटा अडिओ संवादमा पीडित भनिएकाहरुले बालकृष्णको नाम पनि मुछेका छन्। ।
यसअघि नै पक्राउ परेकाहरुले बालकृष्ण र पत्नी मञ्जुको नाम मुछेको समाचार सार्वजनिक भइरहेका बेला त्यसलाई थप बल पुग्ने गरी अडिओ अहिले फेसबुक, टिकट र ट्विटरमा पनि भाइरल भइरहेको छ । कम्तीमा तीनजनाले संवाद गरेको सो अडिओको करिब १५ देखि २० मिनेटको पूरा संवाद विवरण अनुसन्धानरत प्रहरीसँग रहेको बताइएको छ । तर त्यसको १ मिनेट ३ सेकेन्डको अडिओ क्लिपले खाँण र देउवा परिवारलाई पनि मुछेको छ ।
अडिओमा पूर्वप्रधानमन्त्री देउवा पत्नी आरजु राणा र पूर्वगृहमन्त्री बालकृष्ण खाण पत्नी मञ्जुले करोड–करोड लिएको भन्ने ब्यहोराको संवाद सुन्न सकिन्छ । यो अडिओलाई लिएर प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ । प्रहरीले यसको आधिकारिकता जाँचलाई अनुसन्धानकै एक अंगका रुपमा अघि बढाइएको जनाएको छ ।
‘जाहेरवालाले १५÷२० मिनेटको अडिओ हामीकहाँ बुझाएका छन्। । यसमा जसको नाम लिइएको छ उनीहरुको संलग्नता खुल्दैन । उनीहरुले भनेअनुसार संलग्नता हो कि होइन हामी परीक्षण गर्दैछौँ । आरोप मात्रै लगाइएको हो कि प्रमाणले पनि पुष्टि गर्छ त्यो हेरिन्छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।
अडिओमा संवादका क्रममा आरजुले साढे दुई करोड रुपैयाँ र मञ्जुले घरमै ६ करोड रुपैयाँ लिएको दाबी गरिएको छ । सुरुमा टिकटकमा सार्वजनिक भएको यो अडिओ अहिले ट्विटर र फेसबुकमा पनि भाइरल भइरहेको छ ।
सो प्रकरणमा संलग्न गिरोहले अडिओको सुरुमा कर्मचारी प्रमुख जिल्ला अधिकारीहरुको सरुवाले आफूहरु हैरान भएको बताएको सुन्न सकिन्छ । उनीहरुले काम हुने प्रलोभनमा आफूहरुलाई दुहुनो गाई बनाइएको भन्दै तीतो पोखेका छन ।

‘यसो काम सकिन आँट्यो भन्यो प्रजिअको सरुवा गरिदिजान्छ, ल है काम भयो भन्यो भोलि त सरुवार गरिजान्छ’, सुरुमा एकजना यसरी गुनासो गर्छन, ‘पर्सिदेखि काम सुरू भयो भन्यो झ्वाम्म खाइदिएर सिडिओ सरुवा भइजान्छ। कति सरुवा गर्न सक्या नियतले नै हो कि त दाइ के काम हुन्छ त रातारात सरुवा गरिदिएपछि। दुहुनो गाई भयौँ हामी त ।’ त्यसपछि संवाद अझै अघि बढ्छ। जब संवाद अघि बढ्दै जान्छ, दोस्रो तेस्रो व्यक्तिको संवाद त्यहाँ थपिन्छ ।
काम नभएपछि आजित भएका एकजनाले अब अति भएकाले मिडिया बोलाउने तयारी गरेको पनि उक्त संवादमा सुन्न सकिन्छ । ‘खाने मात्रै छन्। । भोलि मिडिया पनि बोलाउँछु भन्नु तपाईंले’, एकजनाले भन्छन्, ‘भोलि मिडिया पनि बोलाउँछु भन्नु तपाईंले मिडियासँग सबै कुरा राख्छु यो हप्ताभरी काम भएन भने भनेर भन्नु, त्यही हनुमान ढोकाअगाडि पत्रकार बोलाउँछु भन्नु भोलि मिडिया पनि बोलाउँछु भन्नु तपाईंले, किनभने मलाई कसैको डर छैन क्या!’
अडिओमा प्रजिअको पटक पटक सरुवाले हैरान एक व्यक्तिको गुनासोपछि त्यसमा उनीहरुले कांग्रेस नेतृहरु आरजु र मञ्जुको प्रसंग निकाल्छन्। । एकजनाले आफूले आरजुलाई साढे २ करोड रुपैयाँ र मञ्जुलाई घरमै पुगेर साढे ६ करोड रुपैयाँ बुझाएको समेत कुरा निकाल्छन्। । ‘आरजु राणालाई साढे दुई करोड रुपैयाँ बुझाएकै हो’, त्यसक्रममा दोस्रो व्यक्ति भन्छन्, ‘६ करोड रुपैयाँ हनुमाथानमा बालकृष्ण खाँणलाई बुझाएका हौँ । मञ्जु खाँणले बुझेकै हुन्। त्यो हनुमान थानको भित्रपट्टि लगेर बुझाएका हौँ । प्रमाण मसँग छ नि!’
उक्त अडिओ जाहेरवालाले नै अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई पनि बुझाइसकेका छन्। । प्रहरीले यसको तथ्य जाँचलाई अघि बढाइएको जानकारी दिएको छ । अडिओमा मञ्जुलाई अनामनगरस्थित हनुमानथान पछाडिको घरमा गएर ६ करोड दिइएको भनिएको छ। तर मञ्जु खाणले भने आफू चार वर्षदेखि चाबहिलमा बस्दै आएको बताएकी छन्। । मञ्जुले आफूलाई बदनाम गर्न फेक अडिओ बनाएर सार्वजनिक गरिएको प्रतिक्रिया पनि दिएकी छन्। ।

ओलीले उठाए सरकारको निष्पक्षतामाथि प्रश्न
एमाले अध्यक्ष केपी ओलीले नक्कली शरणार्थी प्रकरणमा कांग्रेसको शीर्ष नेतृत्व नै जोडिने गरी आएको अडिओ आफूसम्म पनि आइपुगेको बताउँदै राजनीतिक प्रतिशोध साँध्ने गरी अघि बढेमा राम्रो नहुने सन्देश प्रधानमन्त्रीलाई दिएका थिए । ओलीले यसबारेमा आइतवार बसेको संसदीय दलको बैठकमा पनि आफ्ना कुरा राखेका छन्। । उनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि आफू जोगाउने पक्षमा नरहेको बताउँदै तर सरकारले इगोको राजनीति गर्न चाहेमा प्रतिकार गर्ने उल्लेख गरे । ओलीले सांसदहरुलाई सम्बोधनका क्रममा भ्रष्टाचार र ठगी जस्ता आपराधिक कार्यमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्ने बताउँदै तर त्यसो गर्दा राजनीतिक प्रतिशोध साँध्न नहुने उल्लेख गरे ।
दलको बैठकमा सम्बोधन गर्दै ओलीले एमालेकै शीर्ष नेताहरु जोडिएको नक्कली शरणार्थी प्रकरणलाई सरकारले राजनीतिक रंग दिन खोजेको पनि बताए । यसलाई लिएर आइतबारको संसदमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरु विवादमा उत्रिए । उनीहरुले एमालेले भ्रष्टाचारमा मुछिएकाहरुलाई जोगाउन खोजेको भन्दै सत्ता पक्ष विरोधमा उत्रिएका थिए । उता एमालेले पनि सरकारको निष्पक्ष अनुसन्धानमाथि प्रश्न उठाए । उता एमाले सांसदहरुले सत्तारुढ दलका नेताहरुलाई कारबाही नगर्न प्रधानमन्त्रीलाई कसले दबाब दिएको भनेर प्रश्न गरेका थिए ।

Facebook Comments Box