विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमसञ्चार माध्यममा आउने समाचारमा एकरुपमता हुनुपर्ने बताएका छन ।
राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन । मुख्यमन्त्री कार्कीले भने– ‘एउटै घटनाका बारेमा जतिवटा मिडिया हेर्यो उति किसिमका समाचार आएका हुन्छ, यस्ता कुराले जनतामा भ्रम सिर्जना गर्छ, त्यसैले विचारमा आफ्नो मत जाहेर गरेपनि समाचारमा एकरुपता हुनुपर्छ ।’
उनले प्रदेश सरकारले गरेका विकास निर्माण, सुशान र नीतिगत सुधारको खुलेर प्रचार गरिदिन र खराव कामको आलोचना गर्न पनि आमसञ्चार क्षेत्रलाई अनुरोध गरे ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार पत्रकारहरुको क्षमता अभिवृद्धि, पत्रकारिता क्षेत्रको संस्थागत विकास र अध्ययन अनुसन्धानका कार्यालाई अगाडि बढाउन तयार रहेको स्मरण गराउँदै त्यसको लागि आगमी आर्थिक वर्ष भित्र आवश्यक कानून निर्माण गरी प्रदेश स्तरीय सञ्चार प्रतिष्ठान गठनको काम अगाडि बढाउने जानकारी गराए ।
मुख्यमन्त्री कार्कीले भने– कोशी प्रदेशको राजधानी टुङ्गो लागेपनि संरचनाहरु निर्माण नभएको दृष्टान्त प्रस्तुत गर्दै अब प्रदेश सरकारका आवश्यक संरचनाहरु कहाँ निर्माण हुन्छन् भन्ने कुराको सन्देश दिने गरी आगमी वर्ष भित्र संरचना निर्माणको काम सुरु गर्छौ । ‘पहिलो चरणमा मुख्यमन्त्रीको कार्यालय, मन्त्रालयहरु र प्रदेश सभाको कार्यालय निर्माण हुन्छन् र त्यसका लागि केही तयारी भइरहेको छ’ –उनले भने ।
उनले कोशी प्रदेश नामकरणका सन्दर्भमा भइरहेका विरोध कार्यक्रमहरु प्रति लक्षित गर्दै आफ्ना असहमतिहरु शान्तिपूर्ण रुपमा राख्न अनुरोध गरे । मुख्यमन्त्री कार्कीले भने– ‘आफ्ना विचारहरुको बारेमा विभिन्न फोरमहरुमा छलफल गराउनु होस, यो विरोधलाई आफ्नो सङ्गठन निर्माणसँग जोड्नु होस र आगमी निर्वाचनमा आवश्यक बहुमत ल्याएर नाम परिवर्तन गर्नुहोस ।’
कार्यक्रममा कोशी प्रदेश सरकारले प्रदेश भित्रका चारजना अग्रज पत्रकारहरु सोमनाथ सुशेली, रोजेश विद्रोह, चन्द्रकला ( अम्बिका ) भण्डारी र सटेन्द्र जबेगुलाई एक लाख रुपियाँ राशिको ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ र सम्मान पत्र मार्फत पुरस्कृत तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीलाबल्लभ घिमिरे, पुरस्कृत व्यक्तित्व सोमनाथ सुशेली र चन्द्रकला भण्डारीले पनि पत्रकारिता क्षेत्र मर्यादित र जिम्मेवार हुनुपर्ने कुरामा जोड दिनु दिएका थिए ।