दमक/ लोकतान्त्रिक पत्रकारहरुको संगठन नेपाल प्रेस युनियन झापाको आसन्न १० औं जिल्ला अधिवेशन यही वैशाख ३१ गते गर्ने निधो भएको छ ।
युनियनको आज बसेको जिल्ला समितिको बैठकले विर्तामोडमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको जनाइएको छ । अधिवेशनको उदघाटनमा युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, महासचिव दिलीप पौडेल लगायत शीर्ष नेतृत्वहरु आउने बताइएको छ ।
अधिवेशनको उदघाटन कार्यक्रममा युनियनले खगेन्द्र कार्की स्मृति पत्रकारिता पुरस्कार समेत वितरण गर्दै आएकोले यसपटकको सो पुरस्कारका लागि पुरस्कृत पत्रकार छनौटका लागि लोकराज ढकालको संयोजकत्वमा पुरस्कार छनौट समिति समेत गठन गरिएको छ । युनियन झापा जिल्ला अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा बसेको सो बैठकले अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रकृया अघि बढाउन अधिवक्ता नारायण पौडेलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरेको युनियनका झापा जिल्ला समिति उपाध्यक्ष गिरिराज भट्टराईले जानकारी दिए ।