दमक/ दमकका अस्पतालहरुमा कार्यरत महिला स्वास्थ्यकर्मीहरुका लागि नवजात शिशु तथा आमाको सुरक्षा सम्बन्धि निर्देशिका अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । सुत्केरी अवस्थामा आमा र बच्चाको स्वास्थ्यमा ध्यान दिनुपर्ने बिषयमा केन्द्रित भएर सो अभिमुखिकरण सञ्चालन गरिएको हो ।
दमक नगरपालिका कार्यालयको आयोजनामा सञ्चालित अभिमुखिकरणको नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले उदघाटन गर्दै मातृ शिशुको सुरक्षा अत्यन्तै संवेदनशील बिषय भएकाले यसप्रति अभिभावक र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी दुवै पक्ष उत्तिकै सजग हुन आवश्यक रहेको बताइन । उपप्रमुख भट्टराईले अस्पतालहरुमा अकस्मात हुने आमा तथा नवजात शिशु मृत्युको घटनाबाट हुने क्षति असिमित हुने भएकाले त्यस्तो परिस्थितीको सामना गर्नुभन्दा त्यस्ता घटना हुनबाट रोक्न आवश्यक स साना बिषयहरुमा पर्याप्त सतर्कता अपनाउनु पर्नेमा जोड दिइन ।
नगरपालिकाका सिनियर अहेव नगेन्द्र भट्टराई, स्वास्थ्य निरिक्षक बद्री बराल लगायतले पनि नवजात शिशु र आमाको सुरक्षा प्रति अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु बढी भन्दा बढी सजग हुनुपर्ने औंल्याए ।
सो अभिमुखिकरणमा प्रदेश स्वास्थ्य निर्देशनालयकी तुलसा अधिकारी, आम्दा अस्पतालकी सिनियर स्टाफ नर्स सुनिता सिम्खडा, नगरपालिका स्वास्थ्य शाखाकी देविका न्यौपाने र स्वास्थ्य निरिक्षक बद्री बरालले सहजीकरण गरिरहेका छन । सो अभिमुखिकरणमा नगरमा सञ्चालित ऊँ मेची अस्पताल , लाइफलाइन अस्पताल, दमक अस्पताल, आधारभुत स्वास्थ्य केन्द्रहरु र आम्दा अस्पतालबाट महिला स्वास्थ्यकर्मीहरु सहभागी छन ।

 

Facebook Comments Box