दमक/ नेपाली कांग्रेसका नेता एवम् सांसद डा.चन्द्र भण्डारी उपचारपछि स्वदेश फर्किएका छन ।
भारतको मुम्बईमा रहेको नेशनल बर्न अस्पतालमा उपचाररत डा. भण्डारी आज आइतवार बेलुकी स्वदेश फर्किएका हुन । त्यस क्रममा उनले आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेता, सहकर्मीहरुप्रति आभार र धन्यवाद व्यक्त गरेका छन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै नेता भण्डारीले आफू थप उपचारका लागि भारत गएकै दिन नेपाल सरकारले अर्काे बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुसी लागेको उल्लेख गर्दै त्यस अस्पताल निर्माणको नेतृत्व पनि गर्न चाहेको बताए । उनले त्यो अस्पतालको निर्माणमा सहयोग गर्न पनि सबैलाई अपिल गरे ।
स्वास्थ्यमा सुधार हुँदै गएपछि भण्डारी स्वदेशमै बसेर उपचार गर्ने गरी स्वदेश फर्किनुभएको हो । उनी गएको फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर घाइते भएका थिए । सो घटनामा घाइते भएकी नेता भण्डारीकी आमाको उपचारको क्रममा निधन भएको थियो ।

 

Facebook Comments Box