दमक/ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी झापाले आफ्ना पार्टी सदस्यहरुलाई अहिले चितवनमा भएको पत्रकार शालिकराम पूडासैनीको मृत्यु प्रकरण र सो घट्नाको अनुसन्धानका सिलसिलामा पक्राउ परेका रवि लामिछानेको रिहाईको माग गर्दै भईरहेको आन्दोलनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सो बिषयलाई लिएर झापामा समेत प्रदर्शनको क्रम चलेपछि सत्तरुढ सो दलले त्यसकिसिमका अराजक गतिबिधीमा संलग्न नहुन पार्टी कार्यकर्ताहरुलाई निर्देशन गरेको हो । त्यस्ता गतिबिधिमा पार्टी सदस्यहरुको संलग्नताका बिषयमा निगरानी गर्न पनि सो पार्टीले मातहतका कमिटीहरुलाई निर्देशन गरेको छ । पार्टीका तर्फबाट जिल्ला अध्यक्ष चिन्तन पाठक र सचिव मणि साम्पाङले ३ भदौमा विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालहरु मार्फत त्यसलाई सार्वजनिक गरेका हुन् ।

विज्ञप्तीमा निर्दोष नपरुन, दोषी नउम्किउन भन्ने पार्टीको स्पष्ट धारणा रहेकाले अनुसन्धानलाई प्रभावित पार्ने गरि कुनै पनि किसिमका उच्छृखंल गतिबिधी नगर्न र सामाजिक सञ्जालहरुमा जथाभावी धारणाहरु सार्वजनिक नगर्न पनि सचेत गराइएको छ । गएको २० साउनमा पछिल्लो समय काठमाडौंस्थित माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार पूडासैनी चितवनको एक होटलमा मृत फेला परेका थिए । त्यसको केहि दिन पछि सामाजिक सञ्जालका माध्यमबाट पूडासैनीले आत्महत्या गर्नु अघि आफ्नै शब्दमा श्रव्यदृश्य सामाग्री बाहिर आएको थियो ।

जसमा पूडासैनीले माउण्टेन टिभीमा काम गर्नुअघि न्यूज २४ मा रवि लामिछानेसंगै काम गरेका र सो क्रममा लामिछानेले विभिन्न कर्तुतहरु गर्ने गरेको र आफू उनकै कारण मृत्युवरण गर्ने अवस्थामा पुगेको उल्लेख छ । यद्यपी सो श्रव्यदृश्य सामाग्री उनको मृत्युको घट्नाको अनुसन्धानका लागि प्रयोग हुनुपर्नेमा केहि दिनपछि कसरी सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक हुन पुग्यो ? भन्ने बिषय पनि रहस्यकै गर्भमा छ ।

Facebook Comments Box