विराटनगर/ कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले
संयुक्त राष्ट्रसङ्घले लिएको दिगो विकास लक्ष्य हाँसिल गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन ।
शुक्रबार विराटनगरमा आयोजित नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मूल्याँङ्कन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन ।
नेपालले २०१५ मै दिगो विकास लक्ष्य, अवस्था र मार्गचित्र तयार गरी त्यसै अनुरुपका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्दै आइरहेको स्मरण गराउँदै उनले मार्गचित्रले दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यका १६९ वटा परिमाणात्मक लक्ष्यहरु अन्तर्गत सबै क्षेत्रमा गरी ४९४ वटा सूचक पहिचान गरेको जानकारी गराए ।
संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रका हैसियतले नेपाल दिगो विकासका लक्ष्यहरुप्रति प्रतिवद्ध रहेको जानकारी गराउँदै मुख्यमन्त्री कार्कीले भने – ‘ .विश्वव्यापी लक्ष्यका रुपमा पनि चिनिएको दिगो विकास लक्ष्य सहश्राब्दी विकास लक्ष्यको सफलतामा निर्माण गरिएका हुन् ।’
सन् २०१५ को सेप्टेम्बरमा विश्वका नेताहरुल संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमार्फत अनुमोदन गरेको यो एजेण्डा अन्तर्गत विश्वका १९३ देशहरुले विभिन्न १७ वटा लक्ष्यमार्फत सन् २०३० सम्ममा गरिवी अन्त्य गर्ने प्रतिवद्धता जाहेर गरेका मुख्यमन्त्री कार्कीले स्पस्ट पारे ।
१५ बर्षको अवधिमा हासिल गर्नुपर्ने यी प्रत्येक लक्ष्यका आ–आफ्नै परिमाणात्मक लक्ष्यहरु रहेको स्मरण गराउँदै त्यसका लागि गरिवीको अन्त्य गर्ने कार्य र आर्थिक वृद्धि गर्ने रणनीति सँगै जानुपर्ने उनले प्रस्ट पारे ।
उनले दिगो विकास लक्ष्यले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगारीका अवसरसहित कैयन सामाजिक आवश्यकताहरु लाई सम्बोधन गर्नुका साथै असमानतासँग लड्दै कसैलाई पछाडी नछोड्ने भन्ने कुरालाई सुनिश्चित गरेको दाबी गरे ।
दिगो विकास लक्ष्य समग्रमा सामाजिक, वातावरण, आर्थिक र कानुन तथा शासकीय स्तम्भ गरी चार समुहमा विभाजित रहेको स्पस्ट पार्दै कानुनी रुपमा बाध्यात्मक नभए पनि नेपालले यसको स्वामित्व लिएर यसका लक्ष्र्य हासिल गर्न राष्ट्रिय ढाँचा निर्माण गरिरहेको जानकारी गराए ।