दमक/ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने  दुई महिलासहित तीन जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा एक जना झापाली महिला र एक जना पुरुष तथा पोखराकी एक जना महिला रहेका छन । उनीहरुलाई प्रहरीले पक्राउ गरी वैदेशिक रोजगार विभागमा बुझाएको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा कमल गाउँपालिकाकी हरिकला दाहाल, अर्जुनधाराका ओमनाथ मैनाली र पोखरा महानगरपालिका १८ घर भई काठमाडौं महानगरपालिका जम्बुडाडा बस्ने ३४ बर्षिया विपना कुँवर रहेका छन । कुँवरले सुनिता गोतामेलाई वैदेशिक रोजगारको लागि क्यानडा पठाई दिने भन्दै पटक पटक गरि ९ लाख रुपैयाँ उठाएका थिए ।

क्यानाडाका होटलमा वेटरमा काम लगाइदिने प्रलोभन दिएर आफुसँग पैसा उठाएको पीडित कुँवरको भनाइ छ । ठगी गर्ने कुँवरले पैसा लिएर सम्पर्कविहीन भएपछि आफूहरु ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा कारवाहिको लागि निवेदन दिएका थिए ।
त्यसैगरी अर्जुनधारा १ घर भई हाल काठमाडौंको गोङ्गबु बस्ने ४१ बर्षिय मैनालीले वैदेशिक रोजगारीका लागी सिङ्गापुर पठाइ दिन्छु भन्दै मीन बहादुर रानासँग पटक पटक ६ लाख ४० हजार रुपैयाँ लिएर ठगी गरेको जनाइएको छ ।
त्यसैगरी कमल गाउँपालिकाकी ३२ बर्षिया दाहालले वैदेशिक रोजगारीको लागि इजरायल पठाइ कन्ट्रायक्टरको काम दिलाइ दिन्छु भन्दै दीपक दाहाल समेत ५ जनासँग पटक पटक गरि ४८ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएकी थिइन ।
प्रहरीले कुँवरलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका जम्बुडाडाबाट, ओम नाथ मैनालीलाई काठमाडौंको बबरमहलबाट र हरिकला दाहाललाई काठमाडौंको चाबहिलबाट पक्राउ गरि वैदेशिक रोजगार विभाग बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

Facebook Comments Box