दमक/ चुनाव ताका धेरै उम्मेदवारले सस्तो लोकप्रियताका लागि आफूले पाउने सेवा सुविधा नलिने घोषणा गर्छन । कैंयौले पाएको सेवा सुविधा व्यक्तिगत खर्च नगर्ने र सामाजिक काममा लगाउने उदघोष गर्छन । चुनाव जित्ने सम्भावनानै कमजोर भएका उम्मेदवारहरु बढी चर्चा कमाउनका लागि यस्ता प्रचार प्रसार गर्ने गराउने अभ्यासमा लागेको पाइन्छ । तर यस्तो प्रचारका भरमा न उनीहरु चुनाव जित्छन न चुनाव जितेर त्यो घोषणा कार्यान्वयननै गर्छन तर दमक ४ का वडाअध्यक्ष पुण्यप्रसाद दाहालले भने आफूले चुनावताका मतदाताका घरदैलोमा पुगेर गरेको प्रतिबद्धताको कार्यान्वयनमा इमान्दारिता देखाइरहेका छन ।
उनले पछिल्लो समय आफूले पाउने सुविधावापत प्राप्त गरेको रकमबाट वडाका एक जना दिर्घरोगीलाई आर्थिक सहयोग गरेका छन् । उनले पाएको भत्ता वापतको रकम एक जना दलित महिलाको उपचारमा सहयोग गरेका छन ।
स्थानीय मंगलटोल निवासी दिर्घरोगी तारा परियारलाई उनले १० हजार रुपैयाँ सहयोग घरमै पुगेर उपलव्ध गराएका हुन् । कमजोर आर्थिक अवस्था भएकी विरामी ति महिलालाई नियमित औषधी सेवनमा सघाँउ पुरयाँउन स्वेच्छिक रुपमा सहयोग पुरयाँएको उनले बताएका छन् ।
उनले आफनो प्राप्त गरेको सुविधमार्फत यसअघि पनि सो वडाका दुई जना विरामी तथा असहायलाई आर्थिक सहयोग गरेका थिए । वडाअध्यक्ष दाहाल नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएका हुन् । स्थानीयबासीहरु वडाध्यक्ष दाहालको नाम पुण्यप्रसाद भए जस्तै काम पनि पुण्य मिल्ने गरिको भएको भन्दै खुशी व्यक्त गरिरहेका छन ।